काठमाडौं, २६ पुस अर्थ राजनीतिक विश्लेषक झलक सुवेदीले मुलुकको विकास र समृद्धिको लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको छ ।
अर्थ राजनीतिक विश्लेषक सुवेदीले मुलुक विकास निर्माण र पूर्वाधार विकासको क्षेत्रमा अघि बढिरहेको भन्दै विकास निर्माणको गतिसँगसँगै जनजिविकाको सवाल पनि परिवर्तन हुनुपर्ने बताउनु भएको हो । एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा कुरा गर्दै सुवेदीले देशमा रेल, पानिजहाज लगायतका ठुला आयोजना आवश्यक रहेको जिकिर गर्नुभयो ।
त्यसले देशलाई दिर्घकालिन रुपमा फाइदा पुराउने भन्दै विश्लेषक सुवेदीले ठुलो आयोजनाको काम गर्दै गर्दा साना साना प्राथमिकताका काम छुटाउनु नहुने बताउनुभयो । समृद्धिको कुरा गर्दै गर्दा जनजिविकाको स्तर कहाँ छ भनेर हेर्न भुल्नु नहुने उहाँको भनाई छ । पर्यटन, जलस्रोत र कृषिको विकासमा ध्यान पुराउन आवश्यक रहेको औँल्याउँदै उहाँले त्यसको निम्ति राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको हो ।
विश्लेषक सुवेदीले आजको आवश्यकता गाउँघरमा स्वास्थ्यचौकी, बिद्यालय पुराउनुपर्ने रहेको भएपनि बहस मोडिने गरेको जिकिर गर्नुभयो । राष्ट्रिय सहमति कायम गरेर स्कुल, विद्यालय खोली सेवा पुराउने काममा मुख्यगरी सत्तारुढ दलले ध्यान पुराउनुपर्ने उहाँको भनाई छ ।
देश गतिशिल अर्थतन्त्रको दिशामा रहेकोले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको भुमिकालाई सक्रिय बनाउन सके देशले दश वर्षमा निकै आर्थिक प्रगति गर्ने उहाँले बताउनुभयो ।
विदेश नीति, भु–उपयोग सम्बन्धी नीति र कृषिमा ध्यान पुराउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । कार्यक्रम आउटलुक आज शनिबार राति ९ बजे प्रसारण हुनेछ ।
COMMENTS