18 May, 2020 2:41 pm


‘जनताको हर्षको आँशु नीति तथा कार्यक्रममा देख्न सकिन्छ’ – सांसद


काठमाडौं, ५ जेठ ।  सङ्घीय सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनताको राष्ट्रिय आवश्यकता र जनताको आवश्यक सान्दर्भिकताको विषय समेटेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले त्यसको स्वागत गर्नुभएको छ ।

प्रतिपक्षी दलका सांसदले भने कोभिड–१९ को महामारीबाट राष्ट्र र जनतालाई बचाउने प्रभावकारी कार्य तथा आर्थिक सुधार र रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम आउन नसकेको भन्दै नीति तथा कार्यक्रमको आलोचना गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गर्नुभएको आव २०७७÷०७८ को नीति तथा कार्यक्रम कोभिडको महामारीबाट मुलुकलाई मुक्त गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ केन्द्रित रहेकोले सत्तारुढ दलका सांसदहरुले त्यसको समर्थन गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सहभागी सांसदले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्नेमा पनि सुझाउनुभयो ।

नेकपाका सांसद खिमलाल भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अहिलेको राष्ट्रिय आवश्यकता र जनताको आवश्यकतालाई सम्बोधन गरेको बताउनुभयो । सर्वोपरी हित प्रवद्र्धनका विषयलाई समेटिएकाले जनताको हर्षका आँशु नीति तथा कार्यक्रममा देख्न सकिने उहाँको भनाइ छ । प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रममा सपना बाँडेको भनी गरेको टिप्पणीको कटाक्ष गर्दै सांसद भट्टराईले भन्नुभयो, “प्रतिपक्षीले भनेजस्तै सपना हो । किनकी यो सपना राष्ट्र र जनताको आवश्यकता पनि हो । हामीलाई कहिलेकाहीँ लाग्थ्यो लोडसेडिङमुक्त होला भनेर अहिले त्यो सपना पूरा भएको छ । हिजो सडकमा नागरिक बेवारिसे अवस्थामा हुन्थे आज सडक मानवमुक्त भएको छ । यो पनि एउटा सपना थियो । त्यो पनि पूरा भएको छ ।”

उहाँले देश तुइनमुक्त र खुला दिशामुक्त भएको, काठमाडौँका सडक चिल्ला र खाल्डाखुुल्डीरहित भएको उदाहरण दिँदै उहाँले सपना देखाउनेसँग प्रतिबद्धता भए पूरा हुन्छन् भन्ने उदाहरण नीति तथा कार्यक्रमले समेटेको छ भन्नुभयो । कृषि, पर्यटन र ऊर्जाकालगायत उद्योगको विकास गरी राष्ट्रको क्षमता अभिवृद्धि गर्न नीति तथा कार्यक्रमले समेटेको, भूमिहीन, गरिब सुकुम्बासी जनतलाई जमिन उपलब्ध गराउने विषय सम्बोधन भएको, वर्तमान कोभिडको सङ्कटमुक्त बनाउन र स्वास्थ्य क्षेत्रको बृहत्तर सुधारमा गरिएको सङ्कल्प र योजनालाई विशेष जोड दिइएको उहाँको दाबी छ ।

फरक प्रसङ्गमा उहाँले भारतीय सेना प्रमुखको अभिव्यक्ति नेपाली जनताको अपमान गर्नेखालको रहेको उल्लेख गर्दै आपत्तिजनक भनाइको भत्र्सना गर्नुभयो ।

नेकपाकै जगप्रसाद शर्माले कोभिडको महामारी नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रममा सान्दर्भिक विषय समेटेको भन्दै यसलाई कार्यान्वयन गर्न परीक्षणको दायरा बढाउने र रोगबारे सचेतना फैलाउने कार्यक्रमसँगै लैजान जरुरी भएको बताउनुभयो । कृषिप्रधान देश नेपाललाई कृषिमा केन्द्रित योजना कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको उल्लेख गर्दै उहाँले समग्रमा सरकारको योजना राष्ट्रिय आवश्यकता र जनचाहनालाई समेटेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले सीमा अतिक्रमण राष्ट्रको लामो समयदेखिको विषय भएकाले दीर्घकालीन समाधानका लागि नीति तथा कार्यक्रमले भाव बोकेको छ भन्नुभयो ।

नेकपाका सांसद रामनारायण विडारीले ‘नीति तथा कार्यक्रम लामो भएर के भो त’ भनी प्रश्न गर्दै धेरै विषय कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता र अठोटलाई प्रतिपक्षी दलले आलोचना गर्नुको औचित्य नभएको प्रष्ट पार्नुभयो । उहाँले नीति तथा कार्यक्रममा आएका राम्रा योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा लैजान काँग्रेसलगायत प्रतिपक्षी दलले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोभिडको महामारी नियन्त्रणका लागि नीति तथा कार्यक्रमले विशेष प्राथमिकता दिनु सकारात्मक विषय भएको उल्लेख गर्दै उहाँले रोजगारी अभिवृद्धिका साथै कृषि उत्पादन प्रवद्र्धन पनि सरकारको प्राथमिकतामा परेकामा खुशी व्यक्त गर्नुभयो ।

सोही पार्टीका दिलकुमारी रावलले राष्ट्रियताका विषयमा नीति तथा कार्यक्रम ऐतिहासिक रहेकाले अतिक्रमित भूमि फिर्ता गराउन एकताबद्ध भएर अघि बढ्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो । सरकारको कार्यक्रमले धेरै क्षेत्रमा प्राथमिकता र प्रतिबद्धता आएकामा समर्थन गर्दै उहाँले यसको व्यावहारिक कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोभिडको महामारीबाट सिर्जित समस्या तीन तहकै सरकारबीच समन्वय गरेर समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

नेकपाका इन्दिरादेवी गौतमले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँले मन्त्री, नेता तथा सांसदले राहत बाँड्ने होइन भन्दै यो काम स्थानीय तहलाई दिएर बजेट तथा स्रोत साधन जुटाइदिनुपर्ने बताउनुभयो ।

नेकपाकै जीवन बुढाले नीति तथा कार्यक्रमले नागरिकको जीउधनको रक्षा गर्नु र रोगबाट मुक्तभएपछि अर्थतन्त्रलाई जोगाउनेजस्ता कार्यक्रम समेटेकाले यो स्वागतयोग्य रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा आम नागरिकले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तारादेवी भट्टले कोभिडको महामारी नियन्त्रण गर्न सरकार र प्रतिपक्षीदलसहित सिङ्गो देश एकताबद्ध भएर लागेको भए पनि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोभिडबारे विशेष कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । उहाँले कोभिडबाट आक्रान्त बनेको अर्थतन्त्र सुधार गर्ने आर्थिक प्याकेज नीति तथा कार्यक्रममा ठोसरुपमा ल्याउन नसकेको टिप्पणी गर्दै आगामी बजेट शहरकेन्द्रित नभई गाउँकेन्द्रित हुनुपर्छ भन्नुभयो । विकास कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा नेकपाका सांसद खिमकुमार विश्वकर्माले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र ऊर्जाको विकासमा बजेट केन्द्रित हुनुपर्ने बताउँदै आत्मनिर्भर अर्थतन्त्रको विकास, उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने विविध पक्षलाई नीति तथा कार्यक्रमले जोड दिएको उल्लेख गर्नुभयो ।

सोही पार्टीका अगमप्रसाद बान्तवा राईले सीमा अतिक्रमणको विषय कालापानी र लिम्पियाधुरा मात्र नभई देशको पूर्वी क्षेत्रका इलाम, पाँचथरलगायत जिल्लाको सिमानामा भारतीय पक्षले बारम्बार अतिक्रमणको प्रयास गरिरहेको भन्दै यसको दृघकालिन समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका सांसदहरु रामचन्द्र राई, महेशकुमार महरा, गोपाल भट्टराई र गङगाकुमारी बेलबासेले नीति तथा कार्यक्रम उपयुक्त र समयसान्दर्भिक भएको भन्दै यसको समर्थन जनाउनुभयो । नेकपाका रामलखन चमारले राष्ट्रियतालाई बलियो बनाउँदै अर्थतन्त्रको सवलीकरणमा केन्द्रित नीति तथा कार्यक्रम समग्र नेपालीका अनुहारमा खुशी ल्याउने खालको भएको बताउनुभयो ।

सोही पार्टीका नैनकला ओझा, शारदादेवी भट्ट र उदयाशर्मा पौडेलले नीति तथा कार्यक्रमले अहिलेको अवश्यकतालाई समेटेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आव २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि प्रारम्भ भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board