9 June, 2020 12:50 pm


चीन चिनाउने अमेरिकी उपन्यासकार पर्ल बक

माओत्से तुङको चीन खुला थिएन । त्यहाँको जनजीवन र समाजको तस्वीर पश्चिमा समाजका लागि एक प्रकारको रहस्यकै कुरा थियो । त्यस्तो चिनियाँ समाजलाई उपन्यासको माध्यमले पर्ल बकले संसारलाई खुला देखाइदिइन् । त्यो उपन्यास थियो-द गुड अर्थ अर्थात् कल्याणी धरती ।

यी उपन्यासकार नेपालसँग पनि दुई प्रकारले गाँसिइन्, त्यो पनि मरणोपरान्त । पहिलो प्रकार थियो, उनको यो विख्यात उपन्यासको अनुवाद नेपालीमा भयो र प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्‍यो । दोश्रो पर्ल बकले आफ्नो जीवन कालमा सुरु गरेको मानवीय सहयोगका लागि स्थापित संस्था पर्ल बक इन्टरनेसनलको माध्यमबाट नेपालमा रहेका प्रशस्त टुहुराहरूलाई धर्मपुत्र/धर्मपुत्रीका रुपमा अमेरिका लगियो । यसरी नेपाल कहिल्यै नआएकी,  नेपाल कहिल्यै नदेखेकी लेखिका आफ्नो जीवनकालपछि नेपालसँग गाँसिइन् ।

अमेरिकामा जन्मिए पनि उनको सन् १९३४ सम्मको जीवन भने चीनमा बितेको थियो । उनको चिनियाँ नाम साई झेन्झु थियो । उनका पिता माताको बिहेपछि दुवै ८ जुलाई  १८८० मा चीन

पर्ल साइडेन्स्ट्रिकर बक २६ जुन १८९२ का दिन माता क्यारिलाइन माउडे र पिता अब्सालोम साइडेन्स्ट्रिकरकी छोरीका रुपमा वेस्ट भर्जिनिया राज्यको रमणीय स्थल हिल्सवोरोमा जन्मेकी थिइन् । अमेरिकामा जन्मिए पनि उनको सन् १९३४ सम्मको जीवन भने चीनमा बितेको थियो । उनको चिनियाँ नाम साई झेन्झु थियो । उनका पिता माताको बिहेपछि दुवै ८ जुलाई  १८८० मा चीन गएका थिए । पर्ल जन्मिने ताका अमेरिका फिरेका उनीहरू पर्ल जन्मेपछि ५ महिने छोरीलाई लिएर चीन फर्किए । उनीहरू सुरुमा झेनझियाङ पुगे र पछि नानजिङ सरे ।

पर्लको बाल्यकाल चीनमा भए पनि उनले विभिन्न संसारहरूमा बाँचेको अनुभूति हुन्थ्यो उनलाई । ‘सानो, गोरो, सफा इसाई संसार पितामाताको’ अनि ‘ठूलो, मायालु, त्यति सफा नभएको चिनियाँ संसार” उनका मूलभूत संसारहरू थिए । उनी दुई भाषामा पढाइ गर्थिन्, चिनियाँ र अङ्ग्रेजी । उनकी आमाले उनलाई अङ्ग्रेजी शिक्षा घरैमा दिन्थिन् ।

उनले सानैमा चिनियाँ विद्वानहरूका कृतिहरू अध्ययन गरिन् । साथै पिताको आज्ञाको अवज्ञा गर्दै चार्ल्स डिकेन्सका उपन्यासहरू पनि पढिन् । पछि उनले चार्ल्स डिकेन्सका कृतिहरू वर्षेनी पढ्ने गरेको बताउँथिन्।सन् १९३८ को साहित्यतर्फको नोवेल पुरस्कार पर्ल बकलाई दिने नोवेल एकेडेमीले निर्णय गर्‍यो । नोवेल कमिटीले पुरस्कारको निर्णयमा ‘चिनियाँ जनजीवनको गहन र खाँट्टी काव्यिक चित्रण र जीवनीको कोशेढुङ्गाका लागि’ भनेको थियो

सन् १९११ मा उनी भर्जिनिया राज्यको लिञ्चवर्गमा अवस्थित रान्डोल्फ म्याकोन वुमन्स कलेजमा पढ्नका लागि अमेरिका आइन् । खासमा उनलाई चीनमा फर्केर इसाई धर्म प्रचारक बन्न पटक्कै मन थिएन । तर उनका पिताले आमा सिकिस्त भएको खबर पठाएपछि उनी धर्म प्रचारककै रुपमा चीन फर्किन् र सन् १९१४ देखि १९३४ सम्म उनले धर्म प्रचारक एवं शिक्षकको रुपमा चीनमा सेवा गरिन् । यद्यपि पछि उनका विवादास्पद धार्मिक विचारका कारण उनले राजीनामा गर्नुपर्नेसम्मको अवस्था आइपर्‍यो।

उनी चीन फर्केपछि सन् १९१७ को मे ३० मा उनले धर्मप्रचारक कृषि-अर्थविद् जोन लोसिङ बकसँग बिहे गरिन् । सन् १९२० देखि १९३३ सम्म बक दम्पतीले नानजिङलाई गृहनगर बनाए र नानकिङ विश्वविद्यालयमा प्राध्यापनको काम गरे । तर यस बीचमा सन् १९२४ मा उनले स्वाध्ययन बिदा लिएर अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री हासिल गरिन् ।

बीसको दशकमा भएको चीनको राष्ट्रवादी आन्दोलनले बकलाई ठूलो असर गर्‍यो । सन् १९२७ मा घटित नानकिङ् घटनाले यसलाई चरमोत्कर्षमा पुर्‍यायो । च्याङकाई सेकका राष्ट्रवादी सेना, कम्युनिस्ट गुरिल्ला तथा जमिन्दारहरूको समूहले कैयन् पश्चिमाहरूको हत्या गरेका थिए । यस्तो विपद्को बेलामा एक गरिब चिनियाँ परिवारले आफ्नो छाप्रोमा आश्रय दिएर उनीहरूलाई जोगाएका थिए । अनि अमेरिकन बन्दुकधारी डुङ्गाले उद्धार गरेर उनीहरूलाई सुरक्षित रुपमा साङ्घाई पुर्‍यायो । अनि उनीहरू समुद्री बाटोबाट जापान पुगे र त्यहाँ एक वर्ष बिताए ।

जापानमा एक वर्ष बिताएर फर्केपछि उनी लेखन कर्ममा जुटिन् । लेखन कर्ममा यसरी अभिप्रेरित गर्नेहरू समकालीन चिनियाँ लेखकहरू शु-झिमो र लीन युटाङ थिए । उनीहरूसँग पर्लको सौहार्दपूर्ण सम्बन्ध थियो ।

पछि उनको वैवाहिक जीवन एकरसपूर्ण हुँदै गएको थियो र उनको कोखमा रहेको छोरा क्यारोल सुस्त मनस्थितिको भएर जन्मिएकाले उसलाई विशेष हेरचाह गर्नुपर्ने आवश्यकता थियो । उनलाई आर्थिक संकटले घेर्दै गइरहेको थियो। यसैबीच सन् १९२९ मा छोरा क्यारोलका लागि विशेष उपचारको खोजिका लागि उनी अमेरिका फर्किइन् । यो भ्रमण उनका लागि सोचेभन्दा फलदायी भयो । उनको पहिलो उपन्यास ” इष्ट इण्ड: वेस्ट इण्ड” रिचार्ड जे वाल्सले प्रकाशनका लागि स्वीकार गरे । यो उपन्यास २० वटाभन्दा बढी प्रकाशकहरूले अस्वीकार गरेर निराशा मात्र हात लागिरहेको थियो । यो उपन्यास स्वीकार भएकोमा पर्ल रिचार्डप्रति निकै नै अनुगृहित भइन् । उनी न्युयोर्कको जोन डे पब्लिसर्सका लागि सम्पादकको रुपमा काम गर्थे । यही सिलसिलामा उनीहरूबीच आत्मीय सम्बन्धको विकास भयो । यद्यपि उनीसँगको पहिलो भेट र रिचर्डको बारेमा आफ्नी बहिनीलाई यस्तो लेखेकी थिइन: ‘ एउटा कडा, रुखो, अनुदारजस्तो देखिने अधबैंसे उमेरको मानिस ।’

उनी चीन फर्किइन् र एक वर्षको अवधिमा उनको जीवनलाई कायापलट गरिदिने, नोवेल पुरस्कार दिलाउने, विश्वविख्यात बनाउने उपन्यास ‘द गुड अर्थ’ लेखिन् ।

चिनियाँ जनजीवनसँग भिजेकी पर्लले बीसौं शताब्दीको पूर्वार्धको चिनियाँ ग्रामीण जीवनलाई आफ्नो उपन्यास ‘द गुड अर्थ’ को कथावस्तु बनाइन् । यो उपन्यास तीन भागमा थियो । अर्थात् उपन्यास त्रयीको पहिलो भाग हो । यो भाग सन् १९३१ मा प्रकाशित भयो । दोश्रो भाग ‘सन्स’ सन् १९३२ मा प्रकाशित भयो भने तेश्रो तथा अन्तिम भाग ‘अ हाउस दिभाइडेड’ सन् १९३५ मा प्रकाशित भयो । तर ‘द गुड अर्थ’ ले पाठकको ध्यान तान्यो । अध्येताको ध्यान तान्यो । विश्वको ध्यान तान्यो । बन्द देश चीनको ग्रामीण कथालाई रुचिपूर्वक लिइयो । यो उपन्यास अमेरिकामा सन् १९३१ र १९३२ दुवै साल धेरै बिक्ने उपन्यासको श्रेणीमा रहन सफल भयो । साथै सन् १९३२ को आख्यानका लागि पुलित्जर पुरस्कार पाउन पनि सफल भयो ।

अमेरिकाको ” लाईफ” पत्रिकाले सन् १९२४ देखि १९४४ सालसम्मको १०० उल्लेखनीय पुस्तकमा यस पुस्तकलाई पनि समावेश गर्‍यो । सन् २००४ मा टेलिभिजन प्रस्तोता ओफ्रा विन्फ्रेले ओफ्रा बुक क्लबका लागि चयन गरेपछि पुन: बेस्‍ट सेलरको सूचीमा चढ्यो ।

यो उपन्यासलाई थियटर गिल्डले ओवेन र डोनाल्ड डेभिस पिता पुत्रको नाट्य रुपान्तरण टिमले तयार पारेको नाट्यरुप मञ्चन गर्‍यो । यसलाई ५६ पटक प्रदर्शन गरियो । अपेक्षाकृत थोरै मात्र सफल भयो रङ्गमञ्चमा । तर १९३७ मा बनेको चलचित्र भने बढी सफल भयो ।

सन् १९३४ मा पर्ल पुन: एक धार्मिक प्रवचनका लागि न्युयोर्क आइन् । उनको प्रवचनले ठूलो विवाद निम्त्यायो र धर्म प्रचारकको कामबाट राजीनामा गर्नुपर्ने अवस्थाको सिर्जना भयो । अनि उनले अमेरिका फर्किने निधो गरिन् । तर उनको लोग्ने जोन बक भने चीन छोड्न तयार भएनन् । उनीहरूका बीच यहीबिन्दुमा सम्बन्धको फाटो प्रष्ट देखियो । पर्लले १९३५ मा अमेरिकाको नेभादा राज्यको रेनो सहरमा पारपाचुके गरिन् । पारपाचुके गरेकै दिन उनले उनको मनले पत्याएको रिचार्ड वेल्ससँग बिहे गरिन् । यो विवाह उनका पति वेल्स जीवित छउन्जेल सुखद् रुपमा रह्यो । उनीहरूले पेन्सिल भेनियालाई गृह राज्य बनाए ।

सन् १९३८ को साहित्यतर्फको नोवेल पुरस्कार जव पर्ल बकलाई दिइने नोवेल एकेडेमीले निर्णय गर्‍यो । यस बारेमा अमेरिकामा मिश्रित प्रतिक्रिया देखियो । थियोडोर ड्रेजरलाई त्यो पुरस्कार दिने निर्णय होला भन्ने धेरैले अपेक्षा गरेका थिए । ड्रेजरबाहेक मार्क ट्वैन, हेनरी जेम्स, शेरउड एन्डरसन, विला क्याथर र जोन डस पासोस पनि नोवेल पुरस्कारका दाबेदार थिए । एक दशकपछि आफ्नै नाम नोवेल पुरस्कारमा आउँदासम्म पनि विलियम फाकनरले पर्ललाई ‘मिसेज चाइनाह्याण्ड बक’ अर्थात् ‘श्रीमती चिनियाँहस्त बक’ भनेर गिज्याउन छाडेका थिएनन् ।

खासमा नोवेल पुरस्कार ‘द गुड अर्थ’ लाई सोझै लक्षित गरेर दिइएको थिएन । नोवेल कमिटीले पुरस्कारको निर्णयमा ‘चिनियाँ जनजीवनको गहन र खाँट्टी काव्यिक चित्रण र जीवनीको कोशेढुङ्गाका लागि’ भनिएको थियो । स्विडिस एकेडेमीले भनेको थियो: “पर्ल बकलाई यो वर्ष पुरस्कृत गर्दा उनका कृतिहरूले मानवीय आदर्श अध्ययनार्थ जातीय बन्धनबाट हटेर मानवीय संवेदनाको मार्ग निर्माण गरेको र जीवन्त कलात्मक तस्वीर प्रदर्शन गरेको स्विडिस एकेडेमी महसुस गर्दछ । जुन चाहिँ अल्फ्रेड नोवेलको भविष्यको सपना थियो ।’

न्युयोर्क टाइम्स बुक रिभ्यूमा ‘गुड अर्थ’ ले नोवेल पुरस्कार पाएको आशयको लेख छापिएकोमा पर्ल सन्तुष्ट थिइनन् । उनको भनाइ थियो, ‘द स्याटर्डे रिभ्युमा हेनरी सिडेल क्यानवेले विनाशकारी सम्पादकीय लेखेका थिए । धेरै वाहियात कुराहरू भनिए । म तिनीहरूसँग सहमत छु, पुरस्कार पाउँदा सबैभन्दा आश्चर्तचकित त मै भएकी थिएँ । मेरो पहिलो प्रतिक्रिया थियो, ‘बिचरा थियोडोर ड्रेजरलाई दिएनन्, कति दया लाग्ने कुरा !’

उनको थप भनाइ थियो, ‘नोवेल पुरस्कार मैले ठिक समयमा पाएँ । मेरो सफलताको सबभन्दा ठूलो तरङ्ग थियो त्यो । मान्छेहरू भन्दै थिए, ‘के मैले अझै लेख्न सक्छु ? मलाई पनि थाहा थिएन, म निरन्तरता दिन सक्छु कि सक्दिन भनेर । तर नोवेल पुरस्कार मेरालागि अचानक चुनौती बनेर आयो र अरूको मप्रतिको भरोसाको प्रतीक बनेर आयो । यसले हृदय स्पर्श गर्‍यो जसलाई मैले कहिल्यै गुमाउनु परेन ।’

नोवेल पुरस्कार वितरण समारोहमा पर्लले ‘चिनियाँ उपन्यास’ को विषयमा लामो सम्भाषण गरेकी थिइन् । उनले त्यस भाषणमा भनेकी थिइन् :

‘जन्मले र वंशानुगत रुपमा म अमेरिकी हुँ, तर मेरो कथाको ज्ञान तथा कसरी कथा भन्ने र कथा लेख्नचाहिँ चीनमा सिकेकी हुँ।’

पर्ल बकका सफल उपन्यासहरूले सन् १९३० को दशकमा टाट पल्टिने अवस्थामा पुगिसकेको प्रकाशन जोन डेलाई जोगायो।  पर्लको आम्दानी पनि वार्षिक एक लाख डलर पुग्यो । उनको उपन्यास विभिन्न भाषामा अनुवाद हुँदा पाइने थप रोयल्टी तथा चलचित्र बनाउँदा पाइने पारिश्रमिकले उनको आर्थिक मेरुदण्ड दरिलो हुँदै गयो ।

पर्ल र रिचर्ड वेल्सले सन् १९३५ मा चीनको भ्रमण गरे । यो नै पर्लको अन्तिम चीन भ्रमण हुन पुग्यो । यसपछि उनले लाख कोसिस गर्दा पनि चीन प्रवेश गर्ने अनुमति पाइनन् । चीनलाई ‘अविकसित, फोहोरी र हतोत्साही’ देशको रुपमा चित्रण गरिएको भन्दै चिनियाँ अधिकारीहरू पर्ल बकसँग खुसी हुन सकेनन् । सन् १८३८ मा नोवेल पुरस्कार पाउनेहरूका लागि आयोजना गरिएको समारोहलाई चिनियाँ प्रतिनिधि मण्डलले बहिस्कार गरेको थियो ।

सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको टोलीमा पर्ल पनि थिइन् तर चिनियाँहरूले उनको भ्रमणलाई रोकिदिए । उनलाई त्यसले हृदयमा ठूलो चोट पर्‍यो । त्यसपछि पटकपटक प्रयत्न गर्दा पनि उनलाई चीनले कहिल्यै भिसा दिएन र उनको प्यारो ठाउँ र ती ग्रामीण चिनियाँहरूसँग उनको भेटको लालसा जीवनभर पूरा हुन पाएन । उनले बाँकी जीवन चीन जाने अवसर कहिल्यै पाइनन् ।

पर्ल बकले चीन चिनाउने उपन्यासमात्र लेखेकी होइनन्, भारतको पृष्ठभूमिमा पनि उपन्यास लेखेकी छिन्,’मण्डाला’ । प्राय: सबै उपन्यास चिनियाँ पृष्ठभूमिमा लेख्ने पर्लले यो चाहिँ भारतीय पृष्ठभूमिमा रहस्यवादमा आधारित भएर लेखिन् ।

पर्ल बक भारतीय फिल्मप्रति रुचि राख्थिन् र उनको भारतीय सदावहार अभिनेता देव आनन्दसँग पनि सम्पर्क थियो । एकपल्ट देव आनन्दले पर्ललाई बेलायतबाट फोन गरे, ‘के तिमी अझै भारतीय कलाकारबाट अङ्ग्रेजी फिल्म बनाउन उत्सुक छौ ?”

पर्लले सकारात्मक जवाफ दिएपछि देव आनन्द पर्ललाई भेट्न अमेरिका पुगे । कुरा मिल्यो । भारतीय अङ्ग्रेजी लेखक आरके नारायणको “गाइड” मा फिलिम बनाउने सहमति भयो । देव आनन्द त्यसपछि मैसुर आएर आरके नारायणलाई भेटे र उनी पनि सहमत भए । त्यसपछि पर्ल बकले सम्वाद लेखिन् र बन्यो-‘द गाइड’ फिल्म । हिन्दीमा ‘गाइड’ त त्यसपछि मात्र बनेको थियो ।

पर्ल बकले सन् १९४१ एसियाली अमेरिकन बालबालिकाहरूको मानवीय सहायताका लागि ‘इस्ट एण्ड वेस्ट एसोसिएसन’ को स्थापना गरिन् । त्यस्तै, धर्मपुत्र/धर्मपुत्री ग्रहणका लागि ‘वेलकम हाउस’ नामको एजेन्सीको पनि स्थापना गरिन् । अनि सन् १९६४ मा उनले ‘पर्ल एस बक फाउन्डेसन’ को स्थापना गरिन् जुन अहिले ‘पर्ल बक इन्टरनेसनल’ को नामबाट पेन्सिलभेनियाको ह्यारिसवर्गमा चलि नै रहेको छ ।

पर्ल बकको पहिलो विवाह सन्तोषजनक नभए पनि दोश्रो विवाह सन्तोषजनक थियो। उनी दोस्रा पति रिचार्ड वेल्ससँग बाँचुन्जेल सत्यवादी भइन् । तर, चीनमा छँदा चिनियाँ कवि शु-झिमोसँग उनको प्रेम सम्बन्ध थियो भन्ने पनि विश्वास गर्नेहरू छन् । शुको सन् १९३१ मा विमान दुर्घटनामा मृत्यु नहुन्जेल उनीहरूबीच प्रेम निर्बाध चलेको थियो पनि भनिन्छ ।

पर्लका पति रिचार्ड लामो बिरामीपश्चात् सन् १९६० मा बिते । त्यसपछि पर्लले विलियम अर्नेस्ट हकिङसँग सुमधुर सम्बन्धलाई नवीकरण गरिन् । उनीहरूको चिनाजानी पर्ल चीनमै छँदा भएको थियो । विलियमसँग सम्बन्धको नवीकरणपछि उनका कैयन् साथीहरूबाट उनी टाढिएकी थिइन् र कतिजनासँग उनको झगडा पनि भएको थियो ।

तर सन् १९६६ मा विलियमको देहान्तपछि यो अध्याय पनि समाप्त भयो ।

त्यसैताका पूर्वनृत्य निर्देशक थियोडोर ह्यारिस उनको विश्वासिलो, भरपर्दो, सह लेखक एवं आर्थिक सल्लाहकारको रुपमा उनको जीवनमा उदायो । पर्ल ह्यारिसलाई आँखा चिम्लेर विश्वास गर्न थालिन् । पर्ल बकको संस्थागत पैसाको हिनामिनाको आरोप लाग्दा पनि उनले साह्रै मेधावी, उच्च तहको कलाकारिताले पोख्त भन्दै ह्यारिसको बचाउ गरिन् । पर्लले आफ्नो मृत्युपूर्व आफ्ना वैदेशिक लेखकहरू तथा उनको सारा निजी सम्पत्ति ह्यारिसकै हालीमुहालीको क्रियटिभिटी कम्पनीलाई दिने कागज गरिन्, अत्यन्त थोरै मात्र आफ्ना सन्तानका लागि छोडेर ।

६ मार्च १९७३ का दिन पर्ल बकको फोक्सोको क्यान्सरले निधन भयो । उनको मृत्युपछि उनका सन्तानले ह्यारिसले नाजायज प्रभाव पारेर सम्पत्ति हत्याएको आरोप लगाउँदै मुद्दा गरे । ह्यारिस अदालतमा उपस्थित हुन सकेनन् र सबै सम्पत्ति उनकै परिवारले पुन: प्राप्त गर्‍यो ।

पर्ल बकको सालिक चीनको नानजिङ विश्वविद्यालय उनको पूर्व निवासस्थान अगाडि स्थापना गरेर सम्मान गरिएको छ ।

अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा पर्ल बक इन्टरनेसनल स्थापित छ र उनको म्युजियम पनि सञ्चालनमा छ ।

– बृन्दावन, भारत ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board