*एलिजावेथ मरुमा मेर्मा/मार्को लाम्बर्टिनी/मारिया नेइरा *
सन् १९९७ मा पाल्म खेतीका लागि अत्यधिक मात्रामा दक्षिण–पूर्वी एसियाको रेन फरेस्ट डढेलो लगाउँदै विनाश गरियो । परिणामस्वरूप वासस्थान विनाश हुँदा सयौँ संख्यामा जंगली चमेरा विस्थापित भए र बंगुर फार्मको नजिकैका मान्छेका निजी बगैँचामा बस्न थाले । यसकै कारण चमेराबाट निपाह भाइरस बंगुरमा सर्यो र बंगुरबाट कृषक संक्रमित हुन पुगे । दुई वर्षमा यस भाइरसले सयभन्दा बढी मानिस मार्यो । तर, यसबाट पाठ सिकिएन । अहिले २० वर्षपछि ठ्याक्कै यस्तै प्रवृत्तिको तर विश्वव्यापी संकट सिर्जना गरेको कोभिड–१९ संक्रमणको सामना गरिरहेका छौँ ।
वर्षौंयता हामी जिका, एड्स, सार्स तथा इबोलाजस्ता संक्रमणकारी रोगहरूको सामना गरिरहेका छौँ । हेर्दा यी रोग फरक–फरक प्रवृत्तिका देखिन्छन् । तर, यी सबैको उत्पत्तिको मुख्य कारण भनेको वासस्थान नष्ट भएर विस्थापित भएका वन्यजन्तु नै हुन् । यसले भन्छ, हाम्रो पर्यावरण विनाश गर्ने कदमले आफ्नै स्वास्थ्य तथा अस्तित्वलाई संकटतिर धकेलिरहेको छ । तर, यो वास्तविकतालाई हामीले दशकौँदेखि बेवास्ता गर्दै आइरहेका छौँ । अनुसन्धानले पनि यो भन्छ कि धेरैजसो संक्रमणयुक्त रोग मानिसको आफ्नै नाजायज क्रियाकलापले निम्त्याउने गर्छ ।
असुरक्षित ढंगले वन्यजन्तु राख्नु, अस्तित्व संकटोन्मुख भएका वन्यजन्तुको उपभोग तथा तस्करीजस्ता क्रियाकलापले नै प्रकृति विनाश र मानव स्वास्थ्यमाथिको संक्रमण निम्त्याइरहेको छ । धेरै मुलुकमा जंगली जन्तु समाउने र जिउँदै बजारमा लगेर बेच्न राख्ने प्रचलन छ । यस्ता बजारले रोग संक्रमणको वातावरण सिर्जिंदै मानव, घरपालुवा तथा वन्यजन्तु सबैलाई उत्तिकै जोखिममा पार्ने गर्छ ।
अहिले कोभिड–१९ संक्रमणकै दौरान ग्रेटर मेकोङदेखि अमेजन र माडागास्करसम्म ठूलो परिमाणमा वनविनाश, चोरी सिकारी र प्राकृतिक स्रोत दोहनका तथ्यांक बाहिरिरहेका छन् । अर्कोतिर आर्थिक संकटका कारण धेरै मुलुकले वातावरण संरक्षण खर्च कटौती गरिरहेका छन् ।
त्यसैले पनि भविष्यमा फैलन सक्ने प्राणीजन्य संक्रमणको नियन्त्रणका लागि पनि अवैधानिक वन्यजन्तु ओसार–पसार तथा खाद्य सुरक्षाको सम्बन्धमा दह्रो अनुगमन गर्नुपर्ने हुन्छ । यस्ता संक्रमणको रोकथामका लागि वन्यजन्तुको उपभोगलाई निस्तेज पार्न सम्बन्धित सर्वसाधारणमा वैकल्पिक जीविकोपार्जनको व्यवस्था गर्न सक्नुपर्छ, जुन निकै चुनौतीपूर्ण छ । केही महिनायता यस विषयमा उल्लेखनीय उपलब्धि भएका छन् । फेब्रुअरीमा चीनले वन्यजन्तुको ओसार–पसार तथा बेचबिखनमा अल्पकालीन रूपमा रोक लगाएको छ र यसलाई सधैँका लागि बन्द गर्नेबारे सोचिरहेको छ । भियतनामले पनि सधैँका लागि प्राणीजन्य संक्रमणबाट जोगिन यस्तै नियम ल्याउन खोजिरहेको छ । तर, यो मात्र पर्याप्त छैन, हामीले प्रकृति विनाशका सबै स्वरूपलाई निरुत्साहित पार्नुपर्छ । हामीले अहिले उत्पादन र उपभोग गरिरहेको खाद्य पद्धतिबारे पुनर्विचार गर्नुपर्छ ।
प्रकृतिको पनि एउटा सीमा हुन्छ । अहिले मानव इतिहासमै अकल्पनीय ढंगबाट प्रकृतिको विनाश भइरहेको छ, यसले अझ डरलाग्दा संक्रमण निम्त्यउने खतरा त्यत्तिकै छ । यस्ता संक्रमण मानव र प्रकृतिबीचको असन्तुलित सम्बन्धकै परिणाम हुन् । अहिले कोभिड–१९ संक्रमणकै दौरान ग्रेटर मेकोङदेखि अमेजन र माडागास्करसम्म ठूलो परिमाणमा वनविनाश, चोरी सिकारी र प्राकृतिक सेत दोहनका तथ्यांक बाहिरिरहेका छन् । अर्कोतिर आर्थिक संकटका कारण धेरै मुलुकले वातावरण संरक्षण खर्च कटौती गरिरहेका छन् । हामीले झन् नियन्त्रण गर्नुपर्ने समय यस्ता क्रियाकलाप बढेका छन् । यो संकट सकिएपछि सरकारहरूले पर्यावरण जोगाउँदै दिगो आर्थिक विकास गरेर स्वास्थ्य जोखिमलाई पनि कम गर्नुपर्नेछ । हामीले हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्दै स्वस्थ समाज बनाउनुपर्छ ।
सेप्टेम्बरमा हुने भनिएको राष्ट्रसंघको जैविक–विविधता सम्मेलन हाम्रो प्रकृतिसँगको सम्बन्ध सौहार्दपूर्ण बनाउने एउटा अवसर हुन सक्छ । यस विषयलाई मध्यनजर गर्दै सरोकारवालाले वातावरण, जलवायु र दिगो विकासका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनेछन् भन्नेमा हामी आशावादी छौँ, ताकि आगामी दशकमा प्रकृतिले आफ्नै लयमा फर्किने मौका पाओस्, सधैँका लागि सुरक्षित मानव स्वास्थ्य र दिगो विकास सम्भव होस् । प्रकृतिसँगको हाम्रो सम्बन्ध सुधार्न ठूलो प्रयास र लगावको खाँचो छ । यसले मानव तथा यो ग्रहलाई नै स्वस्थ राख्दै आगामी महामारीबाट पनि हामीलाई बचाउनेछ । हाम्रो प्रयास पनि यसैका लागि हो ।
(लाम्बर्टिनी डब्लुडब्लुएफका डाइरेक्टर जनरल हुन्, मेर्मा संयुक्त राष्ट्रसंघ जैविक विविधता सम्मेलनकी कार्यकारी सचिव हुन् भने नेइरा डब्लुएचओको वातावरण, जलवायु परिवर्तन तथा स्वास्थ्य विभागकी निर्देशक हुन्)
द गार्जियनबाट, २०७७ असार ४ बिहीबार
COMMENTS