18 June, 2020 1:20 pm


संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । असार ४, २०७७ — संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले प्रतिनिधिसभाबाट पारित भएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित भएको छ ।

राष्ट्रिय सभामा सांसादहरुले भारतले नेपालको अतिक्रमित भूमि तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।

विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएकोमा कुनै पनि सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छैनन् ।

संविधान संशोधन विधेयक पारित हुनका लागि संसदको दुई तिहाई आश्यक पर्छ । राष्ट्रियसभामा हाल ५८ सदस्य छन् । राष्ट्रपतिले मनोनित गर्ने एक सांसद पद रिक्त छ । सबै राजनीतिक दलहरूबीच संविधान संशोधनमा सहमति रहेकाले उक्त विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित हुनेछ ।

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटेर सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि नेपालले नयां नक्सा छाप्ने र संविधान संशोधन गर्ने काम गरेको हो ।
अद्यावधिक नक्साको आधारमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधनका लागि जेठ ९ गते सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएपछि संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निशान छाप प्रयोगमा आउनेछ ।
नेपालको प्रतिनिधिसभाबाट निशान छाप पारित भएपछि भारतीय पक्षले वार्ताको वातावरण विग्रेको भन्ने नमिठो प्रतिक्रिया दिएको थियो । यही हप्ता भारत चीनसंगको सीमायुद्धमा प्रवेश गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board