बाजुरा, १३ असार । जिल्लाको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने दीपा लुवार स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकी छिन् । परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो ।
हाल उनी अछामको बयलपाटा अस्पतालमा जीवन मरणको दोसाधमा छटपटाईरहेकी छिन् । दीपाले बुधबार स्थानीय मेडिकलबाट गर्भ तुहाउने औषधि लिएर घरमै खाएकी थिईने ।
खाएको केही समयमै उहाँको अत्यधिक रक्तश्राव भएको थियो । अवस्था गम्भीर हुँदै गएपछि उनी टाँटे स्वास्थ्यचौकीमा उपचार गराउन आउनुभएको र त्यो समयसम्म उनलाई अत्यधिक रक्तश्राव भएका कारणले त्यहाँ उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पताल लगिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए ।
अहिले उनको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उहाँलाई चार पिन्ट रगत दिइएको अस्पतालले जनाएको छ । औषधि सेवनपछि अत्यधिक रक्तश्राव भएका कारण उनमा अहिले रक्तअल्पता भएका कारण ज्यान निकै जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
गर्भपतन वा सुत्केरी महिलामा हेमोग्लोबिनको मात्रा घटेमा ज्यान जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ । दीपाले औषधि किनेको टाँटे स्वास्थ्यचौकीसँगै जोडिएको एक मेडिकलबाट किनेर खाएको बुझिएको छ । तर, त्यही टाँटे स्वास्थ्यचौकी सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ । उनलाई त्यो जानकारी हुँदाहँुदै पनि मेडिकलबाटै औषधि किनेर खाएको एक स्वास्थ्यकर्मीले बताएका छन् ।
दीपाजस्तै बाजुरामा धेरै महिला यसरी गैरकानूनी रुपमा गर्भपतन गरिरहेका छन् । सुरक्षित गर्भपतन गर्नका लागि सरकारले कानूनी व्यवस्था गरेको भए पनि बाजुरामा भने त्यसको खासै प्रयोग नभएको पाइएको छ । अनुमति नलिएका पसलबाट गर्भपतन गराउने धन्दा बढ्दै गएको छ । जसका कारण महिलाको स्वास्थ्य जोखिम बन्दै गएको सुरक्षित गर्भपतन सेवाका कार्यक्रम संयोजक सरिता थापाले बताए ।
गर्भपतन गराउन नर्स, डाक्टरले तालीम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सूचीकृत भएको हुनुपर्छ तर त्यो नभई मनोमानी रुपमा गर्भपतन भइरहेको जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताए । कानुनमा १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । “शारीरिक, मानसिक अवस्था ठीक भएमात्र गर्भपतन गराउनुपर्छ, तर कुनै परीक्षण बिना नै औषधि खुवाएर गर्भपतन गराउने आम प्रचलन भएका कारण धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, गनाउने पानी आउने समस्या हुनु यसैको परिणाम भएको स्टाप नर्स रोकायाको भनाइ छ ।”
‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुवैले प्रमाणपत्र लिएका हुनुपर्छ तर गाउँमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भइरहेको छ ।
COMMENTS