काठमाडौं, १३ असार । नेपालमा सलह कीराले प्रवेश गर्न शुरु गरेको छ। कृषि मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको जानकारी दिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीका अनुसार बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको सलह किरा देखिएको हो । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।
दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको बताइएको छ । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।
फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।
COMMENTS