29 June, 2020 11:30 am


कोरोना र सलहको त्रासबीच यसरी मनाइँदैछ ‘धान दिवस’

काठमाडौं, १५ असार । आज (सोमबार) असार १५, अर्थात दही चिउरा खाँदै. रोपाई गर्दैं, नाच्दै गाउँदै गरेर राष्ट्रिय धान दिवस मनाईने दिन । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषक यो दिवसलाई मनाइरहेका छन् ।

देशैभर धान रोपाईँ गरी आज धान दिवस मनाइदैछ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाईदै आएको छ । आज देशका विभिन्न स्थानहरुमा कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ ।  यो दिन धान दिवस मनाउनुको साथै रोपाइँ महोत्सव मनाउने गरिन्छ ।

यसपटक ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भररता र समृद्धि’ मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७७ मनाइदैछ । राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री घनश्याम भुसाल उदयपुर पुगेका छन् । त्रियुगा नगरपालिकाले वडा नं. १३ बहेडवा भन्ने स्थानमा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाईदैछ ।

धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९६६ मा भोकमरीबाट मुक्त भन्ने नारासहित धान बालीलाई वर्षे बालीको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले वि.सं २०६२ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउदै आएको छ ।

वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदै कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ ।

नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाईँ सकिइसकेको छ । यस वर्ष कृषकलाई कोरोनाको कहर र सलहको अर्को प्राकृतिक आपत् पनि थपिदा किसान चिन्तित भएका छन् ।

कृषि विकास मन्त्रालयका अनुसार नेपालमा मनाङ मुस्ताङबाहेक अन्य सबै जिल्लामा धान खेति गरिने छ । चालु आर्थिक वर्ष नेपालमा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको भनाई छ ।

सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने विभागले आफ्ना मातहतका सबैतिर सर्कुलर गरेको छ । रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा  मनोरन्जनात्मक हिलो छ्याप्ने जस्ता गतिविधि नगर्ने पनि आग्रह गरेको छ ।

रोपाइँ गर्दा, खाजा वा चिया खाने बेला, आवत जावत गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने, रोपाइँ महोत्सवमा खाजा व्यवस्थापनमा सुरक्षात्मक उपायहरुको अवलम्बन गर्ने र संभव भएसम्म सामूहिक खाजालाई निरुत्साहित गर्ने विभागले आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा ५९ हजार मेटिक टन कम रहे पनि प्रतिहेक्टर उत्पादन भने अहिलेसम्मकै धेरै रहेकोछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board