काठमाडौं, १६ असार । प्रिमियर लिग फुटबलमा बर्नलीले संघर्षपूर्ण जित आत्मसाथ गरेको छ । गएराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० को जित निकालेको हो ।
पाहुना टोली बर्नलीको जितमा बेन मिले ६२ औं मिनेटमा विजयी गोल गरेका थिए । दोस्रो हाफमा घरेलु टोली क्रिस्टलले बर्नलीमाथि दबाब सिर्जना गरेपनि गोल गर्न सकेन । जितसंगै बर्नलीले युरोपा लिग छनोटको दौडमा आफुलाई बलियो बनाएको छ । बर्नलीका प्रशिक्षक सिन डिकेले प्यालेस क्लबबिरुद्ध प्राप्त जितले युरोपा लिगमा छनोटको सम्भावना बढेको बताएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अबरुद्ध सिजन पुन सुरु हुदै गर्दा बर्नली आफ्ना खेलाडीसंग अनुबन्धन बिस्तारमा चुकेको थियो । त्यसपछि क्लबले एकेडेमीका खेलाडीलाई लिएर सिजन अन्त्य गर्ने तयारीमा छ ।
अबरुद्ध सिजन सुरु हुने बित्तिकै पहिलो खेलमा बर्नलीले म्यान्चेष्टर सिटीसंग ५–० ले हार ब्यहोरेको थियो । दोस्रो खेलमा क्रिस्टलबिरुद्ध जित निकाल्दै क्लब तालिकाको आठौं स्थानमा रहेको छ । बर्नली ४५ अंक सहित आठौं स्थानमा छ ।
युरोपेली फुटबलमा सिटीमाथिको प्रतिबन्ध यथावत रहेको खण्डमा बर्नली युरोपा लिगमा छनोट हुने सम्भावना थप बढ्नेछ । क्रिस्टल प्यालेस ४२ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
COMMENTS