सर्लाही, २५ असार । सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन् । रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ ।
आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए । चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् । उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर एकको निधन
जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। करेन्ट लागेर गम्भीर बनेका उनीलाई उपचारका लागि बयलवासतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।
यसैबीच सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको निधन भएको छ । वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ । बुधबार साँझ लोप्चनको पँधेरीखोल्सीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । शव परीक्षणका लागि दुवै जनाको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।
COMMENTS