10 July, 2020 2:44 pm


पहिरोमा परी म्याग्दीमा ३ जनाको मृत्यु, ३१ बेपत्ता

पोखरा, २६ असार । लगातारको बर्षाले आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, भने ३१ जना बेपत्ता भएका छन् ।

म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरका अनुसार जिल्लाको धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको छ । रघुगंगामा पुलै नै बगाएको छ भने, पहिरो छिचोल्दै जान पनि कठिन भईरहेको उनले बताए ।

उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको छ । उनले भने, ‘हेलिकप्टरमार्फत र पैदल पनि उद्धार टोली पुगेपछि घटनाको यथार्थ आउला ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board