12 July, 2020 9:16 am


सप्तकोशीमा बाढीको सतह उच्च: ३९ वटा ढोका खोलियो, ड्रोनबाट तटीय क्षेत्रको निगरानी


काठमाडौँ, २८ असार। निरन्तरको वर्षाले सप्तकोशी नदीमा बाढीको सतह उच्च भएसंगै उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको छ । शनिवार राति भेल बस्तीतर्फ सोझिएपछि सप्तरीका बस्तीहरूमा त्रास बढेको छ । जिम्मा पाएको भारतीय कोशी योजनाले मर्मतसम्भारमा ध्यान नदिंदा तटबन्ध भत्काएर भेल बस्तीमा पस्ने खतरा बढेको स्थानीयले गुनासो गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको हो । भरतीय पक्षले मजबुत तटबन्ध बनाउनुको साटो नदीकै बालुवा थुपारेर तटबन्ध बनाएपछि स्थानीयमा त्रास बढेको हो ।

नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम छ । बाँध सिपेज भइरहेको ठाउँमा तत्कालै मर्मतसम्भार गरेन भने सप्तरीका एक लाखभन्दा बढी जनसंख्या प्रभावित हुने खतरा रहेको हनुमाननगरका नगरप्रमुख शैलेस साहले जानकारी दिए ।

गाउँमा पस्यो बाढी, तटबन्ध भत्कँदा खतरा
लगातारको वर्षाले प्रदेश २ का खोलाहरूमा जलस्तर बढेसँगै बस्तीमा कटानको जोखिम बढेको छ । खोलाले तटबन्ध कटान गरेर बाढी बस्तीमा पस्न थालेको छ । प्रदेश सरकारले बाढी, कटान र डुबानबाट हुने क्षतिको उद्धारमा हेलिकप्टरलाई तयारी हालतमा राखेको छ भने सुरक्षाकर्मीले ड्रोनबाट तटीय क्षेत्रको निगरानी थालेका छन् ।

बाढी पसेर रौतहटको बन्जाराहा गाउँ जलमग्न भएको छ । गाउँलाई चारैतिरबाट पानीले घेरेको छ । ईशनाथका नगरप्रमुख सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि गाउँमा पसेको बताए । ‘बन्जाराहा चारैतिर पानी नै पानीले घेरिएको छ । सबैलाई सतर्क रहन भनेको छु,’ उनले भने, ‘डुबान र क्षतिबाट जोगिन वडाध्यक्षहरूसित छलफल भइरहेको छ ।

लालबकैया नदीमा लगाइएको बाँध भत्किएर गौर नगरपालिका–२ को महादेवपट्टी जलमग्न भएको छ । गत वर्षको बाढीले बाँधमा भत्काएको ठाउँ मर्मत भएको थिएन । शनिबार त्यहींबाट भेल गाउँमा पसेको हो । उक्त क्षेत्रमा बाढीको भेल बढ्दै गए सदरमुकाम गौरलाई पनि डुबानमा पार्ने जोखिम छ । महोत्तरीको बर्दिवास–११ खयरमाराको एउटा बस्ती पहिरोको जोखिममा छ भने सडकहरू जलमग्न भएका छन् । पूर्वपश्चिम राजमार्गलाई पानीले कटान गर्न थालेको छ ।

वर्षाले पूर्वपश्चिम राजमार्गको महोत्तरी खण्डका विभिन्न स्थानमा कटान सुरु गरेको छ । बर्दिवास–४ का केही भाग कटान गरेको छ भने बर्दिवास बजार क्षेत्रमै राजमार्गमा खाल्डा पारेको छ ।

वाग्मतीको बाँध भत्कियो
सर्लाहीको बरहथवा नगरपालिका–१ खर्सालघाटस्थित वाग्मती नदीमा भर्खरै बनाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्किँदा बाढी गाउँतिर सोझिने जोखिम बढेको छ ।

बाढीले प्रदेशको निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट बनाइएको तटबन्धमा पनि क्षति पुर्‍याएको छ । नगरले १५ लाखको लागतमा डाइभर्सनका लागि बाँध निर्माण गरेको थियो ।

सप्तकोसीको बाढीले श्रीलंका ‘टप्पु’ जोखिममा
सप्तकोसी नदीको पश्चिम तटीय क्षेत्रमा रहेको श्रीलंका टापु बाढीको जोखिममा परेको छ । नदीको तल्लो तटीय क्षेत्रमा पर्ने सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकामा पर्ने टापुमा तीव्र रूपमा कटान भइरहेकाले जोखिम बढेको हो ।

टापुको चिलिया बस्तीका नजिकै कटान भइरहेको स्थानीय बद्री राईले बताए । ‘करिब ४० परिवारको बस्ती रहेको चिलिया उच्च जोखिममा छ,’ उनले भने, ‘कटानसँगै बाढी बढ्दै गएकाले बस्तीमा कोसीको भँगालो पस्ने खतरा छ ।’ जोखिम बढेपछि स्थानीय सुरक्षित बासस्थानको खोजीमा लागेका छन् । गत वर्ष पनि कोसी कटान र बाढीले त्यस क्षेत्रका बासिन्दा विस्थापित भएका थिए ।

दुई दिनयताको वर्षात्सँगैको कोसी बाढीको भेल पश्चिम क्षेत्र मोडिएकाले जोखिम भएको हो । बहाव अत्यधिक भएपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको मुहानमा रातो झन्डा गाडिएको सुनसरीको बराहक्षेत्र नगरप्रमुख नीलम खनालले बताए ।

भारत सरकारले पूर्वी तटबन्ध क्षति नपुगोस् भनेर पानीको बहावलाई पश्चिम धकेल्न ‘पाइलट च्यानल’ बनाउँदै आएको छ । गत हिउँदमा पनि त्रिकुटी आकारको तार राखेर कोसीको बहाव पश्चिम सोझिएपछि श्रीलंका टापुतर्फ जोखिम बढेको छ ।

ब्यारेजमा शनिबार ३९ ढोका खोलिएको र पानीको बहाव २ लाख ७६ हजार क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको प्रहरीले जनाएको छ । भारतले कोसी तटबन्ध बर्सेनि मर्मत गर्दै आएको छ । ०६५ सालमा पूर्वी तटबन्ध भत्केर बाढी बस्ती प्रवेश गर्दा ठूलो क्षति भएको थियो । त्यसपछि तटबन्धको पूर्वी क्षेत्रमा बढी ध्यान दिइने गरेको तर यसपालि पश्चिमी क्षेत्रमा पानीको बहाव बढी देखिएको बेलका नगरपालिका–३ का वडाध्यक्ष भरत दर्लामी मगरले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board