12 July, 2020 1:06 pm


मनसुन सक्रियः अझै केही दिनसम्म कायम रहने

काठमाडौँ, २८ असार । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”, उनले भने ।

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए । यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ३।२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १९।५, नेपालगञ्जमा ४।६, धनकुटामा ४४।२, विरेन्द्रनगरमा ६०।७, दिपायलमा ११।२ र धनगढीमा २७।२ मिलिमिटर वर्षा भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board