12 July, 2020 1:57 pm


पार्टी एकतालाई कमजोर पार्ने काम भयो भने जनताको पक्षमा ठहरिँदैनः प्रचण्ड

चितवन, २८ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले ण्कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । उनले भने, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ ।

यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।” पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले भने, “ यसमा पनि तपार्इंहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए। रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए ।

अध्यक्ष दाहालले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।” साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।

वर्षात्मा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकासनिर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाको समग्र विपद् व्यवस्थापनको पूर्वतयारी र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सरोकार कार्यालयका प्रमुख तथा सरोकार सङ्घसंस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रको गतिविधि र धारणा राखेका थिए ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्इ दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला आएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board