13 July, 2020 1:36 pm


नारायणगढ-मुग्लिन सडक एक वर्ष नपुग्दै भासियो

चितवन, २९ असार । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै भासिएका थियो ।

उनले १७ किलोमा तीनदेखि ३ दशमलब ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको जानकारी दिए । ठाउँमा सडक नौ मिटर फराकिलो छ । सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

सो ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दासमेत कोही पनि नआएको बताए । प्राविधिकरुपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्नसक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षात्मा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको हो ।

भासिएको क्षेत्र बढेमा वर्षात्को समयमा समस्या आउनसक्ने अनुमान गरिरहेका बेला सो ठाउँमा सडक थप भासिएको हो । यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो । सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board