16 July, 2020 3:17 pm


नेकपा विवादः सहमतिका लागि शीर्ष नेताहरु छलफलमा व्यस्त

काठमाडौं, १ साउन । पार्टीभित्रको विवाद समाधानको लागि भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु छलफलमा व्यस्त भएका छन् । बिहीबार पनि दुईपक्षीय, त्रिपक्षीय छलफलहरु भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।त्यसलगत्तै प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागि भएका थिए । शुक्रबार साउन २ गतेको लागि तय भएको स्थायी कमिटी बैठकको अघिल्लो दिन सहमति खोज्न भन्दै शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

गएको असार २६ गते एक हप्ताको लागि स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबारको लागि डाकिएको छ । यसअघिका बैठकमा दुई अध्यक्ष ओली र प्रचण्ड मात्रै छलफल गर्दै आए पनि बिहीबार भने अरु नेताहरु पनि छलफलमा जुटेका हुन् ।

बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेताहरु अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले छलफल गरेका थिए ।

प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री ओलीले भने दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।

यो पनि
ओली-प्रचण्डबीचको ‘बालुवाटार वार्ता’ सकियो, सहमति जुटेन

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board