काठमाडौं, १ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाख सम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबार देखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका हुन् ।
उनले जवसम्म प्रविधि, कानून र सुशासनको कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गरे । उनले आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिबाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए । यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटीले प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए ।
अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आज देखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताए । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभांवित हुने उनले बताए । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वा पुडासैनीले गरे ।
COMMENTS