17 July, 2020 9:00 am


नेकपा स्थायी कमिटी वैठक आज, बैठकले केन्द्रीय समितिको बैठकको मिति तोक्ने

काठमाडौं, साउन २ । काठमाडौं, २ साउन । पार्टीभित्रको विवाद समाधानको नाममा पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण लगतार स्थगित हुँदै आएको स्थायी कमिटी वैठक आज बस्न थालेको हो । असार १७ यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुङ्गिएको छैन ।

पार्टीभित्रको विवाद हल गर्न भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नौ पटक छलफल भए पनि विवाद समाधान उन्मुख हुनुको सट्टा झन बढ्दै गएको छ । पटक–पटकको छलफलले कुनै निकास दिन नसकेपछि सहमतिका लागि अझै केही समय लाग्ने नेताहरु बताउन थालेका छन् । आजको स्थायी कमिटी बैठक औपचारिकताका लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो (बिहीबार) भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।

हिजोको छलफल निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेता दुई छुट्टाछुट्टै रणनीतिमा लागेका छन् । प्रचण्ड–नेपाल ओलीलाई राजीनामाका लागि गलाई छाड्ने रणनीतिमा छन् भने ओली आफू नजिकका नेतासँग नयाँ रणनीति निर्माणमा देखिएका छन् । नेकपा स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे बालुवाटारमा शुरु हुँदैछ । आजको बैठकले भदौमा बस्ने गरी केन्द्रीय समितिको बैठकको मिति तोक्ने नेकपा एक स्रोतले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board