काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिब्यक्तिको नतिजा भारतमा बस्ने नेपालीले भोग्न परेको छ । विवादस्पद अभिव्यक्तिपछि भड्एिका भारतीयहरु नेपाली नागरिकमाथि दुर्व्यवहार गरिरहेका छन् ।
विश्व हिन्दू सेनाका कार्यकर्ताले गङ्गा किनारमा ती युवकको शिर मुण्डन गर्दै जय श्रीराम लेखिदिएका हुन् । उनीहरुले जय श्री रामको नारा लगाउँदै नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ ।
यो घटनापछि प्रहरीले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनालाई लिएर सहरका प्रबुद्ध व्यक्तिले निन्दा गरेका छन् ।
भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले यो घटनाको सम्बन्धमा उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुरा भएको ट्विटरमा जानकारी दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।
हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ । भिडियोमा गंगा घाटको दृष्य देखिन्छ । उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दाबादको नारा लगाइरहेको देख्न सकिन्छ ।
हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुर्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार भानु जयन्तीको अवसरमा बोल्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।
नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाइ थियो ।
COMMENTS