17 July, 2020 3:47 pm


मौद्रिक नीतिः किसानलाई कृषि क्रेडिट कार्ड, कृषि कर्जाको सीमा बढ्यो

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए ।

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए । उनले यतिबेला मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।

कृषिको विकासमा वाणिज्य बैङ्कहरुले कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा लिइएको छ ।

२०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्नेछ चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ । यसअघि बैङ्कहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

बजेटले कृषि औद्योगिकरण र सो बाट रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि खेतीलाई प्राथमिकता दिइने बताएको थियो । बजेटको सोही व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषिमा गरिने लगानीको सीमा बढाएको हो

किसानलाई कृषि क्रेडिट कार्ड
कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो ।

यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले यस कुराको जानकारी दिए ।

कर्जाको सीमा ७० प्रतिशत
अब सेयर लगानीकर्ताले बैंकबाट सेयर धितोमा कर्जा लिदा धितोको ७० प्रतिशतसम्म लिन सक्ने छन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board