19 July, 2020 12:06 pm


चितुवाको आक्रमणमा ६ जना बालबालिकाको मृत्यु

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी छ बालबालिकाको मृत्यु भएको छ । सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक÷एक गरी छ जनाको मृत्यु भएको हो ।

चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरु घर फर्किसकेका छन् ।

नेपाल सरकारले चितुवाबाट मृतकका परिवारलाई रु १० लाखका दरले र घाइतेलाई रु दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो ।

चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले जानकारी दिए । वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उनले बताए ।

चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना रहेको उनले बताए ।

५९ पशुधनको क्षति
डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा चितुवा आक्रमणबाट ४८ वटा घटनामा ५९ पशुधनको क्षति भएको छ । भेडा-बाख्रा ३६, गाई आठ, सुगुँर-बँगुर छ र भैँसी दुईको क्षति भएको हो । पशु क्षतिमा परेका परिवारलाई रु दुई लाख १८ हजार ५०० राहत वितरण गरिएको प्रमुख बरालले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board