19 July, 2020 12:25 pm


थलारा गाउँपालिकाको बजेटः कार्यकर्तामुखी योजना भएको भनी विरोध

बझाङ, ४ साउन । थलारा गाउँपालिकामा यस वर्षको बजेट वितरणप्रति विरोध भएको छ । गाउँपालिकाका नेपाली काँग्रेस पार्टीबाट जननिर्वाचित प्रतिनिधिसहित काँग्रेससमर्थक जनताले विरोध गरेका हुन् । काँग्रेस समर्थित जनप्रतिनिधिले गाउँसभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दबाबका लागि पार्टीको साथ लिएर कार्यालयमा विरोध जनाइएको जनाएका छन् ।

थलारा–२ का वडाध्यक्ष हेम खड्काले काँग्रेसबाट निर्वाचित सदस्यको बेवास्ता गर्दै आफूखुशी मनोमानी ढङ्गले कार्यकर्ता र आफ्ना मान्छेलाई मात्र योजना वितरण गरिएको आरोप लगाए । गत असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले बजेट भने असारको अन्त्यमा आएर मात्र प्रस्तुत गरेको थियो ।

नौ वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा रु ४० लाख बजेट दामासाहीले छुट्याइएको र अन्य सबै बजेट गाउँपालिका अध्यक्षलगायत अन्य प्रतिनिधिले गुपचुप रुपमा बाँडफाँट गरेको काँग्रेस समर्थित जनप्रतिनिधिले आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले विकास बजेट रु ११ करोड जति भएको, यसमा रु दुई करोड जति म्याचिङ फन्ड गएको तथा बाँकी रु ४०÷४० लाख वडालाई विनियोजन गरी विषयगत शाखालाई बजेट राख्दा ठीकै भएको बताए । उनले भने, “काँग्रेस समर्थित जनप्रतिनिधि साथीहरुको वडामा रु एक करोड बजेट दिनुप¥यो भन्ने माग थियो ।

साथै विषयगत शाखाको बजेट पनि वडामै दिनुपर्ने र म्याचिङ फन्ड कम गर्नुपर्ने माग छ ।” यो हुन नसकेपछि उनीहरुले विरोध गरेको अध्यक्ष उपाध्यायले बताए । आफूले स्थानीय सरकार प्रमुखको हैसियतले सुशासन, पारदर्शिता र जवाफदेहितालाई जोड दिएको बताउँदै उपाध्यायले भ्रष्टाचार र भ्रष्टाचारजन्य कार्य गरे कसैलाई क्षम्य नहुने दृढता व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board