19 July, 2020 5:26 pm


नवनिर्वाचित सांसद ज्वारचनले शपथपछि भनिन्- ‘राष्ट्रियताको पक्षमा खरो उत्रिन्छु’

काठमाडौँ, ४ साउन । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएकी हुन् । नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।

नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहनुभएकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पु¥याएको पृष्ठभूमि जोडिएको छ । विसं २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि भए ।

यसअघि उनी विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य थिईन् । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनीले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । समारोहमा सभामुख सापकोटाले उनीलाई सङ्घीय सांसदको लोगो प्रदान गरे ।

‘राष्ट्रियताको पक्षमा खरो उत्रिन्छु’
शपथपछि उनीले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने प्रतिक्रिया दिईन् । उनीले भनिन्, “हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board