लगातार परेको बर्षाले कैलाली डुबानमा

टीकापुर, १४ साउन । मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए । जानकी–३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरी बताउँछन् । “कुलो फुटेर बस्तीमा पस्दा सयौँ बिघा खेतीयोग्य जमिन पटानी भएको छ”, चौधरीले भने, “सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।”

टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए । “वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्”, बडघर जैशीले भने, ‘‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।”

लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए ।

टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए । उता कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौँ परिवार विस्थापित हुने अवस्था आएको छ । भजनीस्थित पत्रकार कुसुम धामीका अनुसार भजनी–३ र ७ मा रहेका सयौँ घर डुबानमा परेपछि उनीहरुलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।

यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताउनुभयो । “नदी भरिएर बस्ती डुबानमा मात्र परेका होइन, सयाँै बिघा धानखेती पटानी भएको छ”, बोहरा भन्छन्, “रातभर वर्षा भएकाले अहिले डुबानमा रहेका बस्तीमा राहत तथा उद्धारका लागि तयारी भइरहेको छ ।”

कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताए । “जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौँ”, प्रहरी प्रमुख न्यौपानेले भने, ‘‘स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ । विवरण आउन बाँकी छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board