काठमाडौं, १७ साउन । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका पक्षघातका रोगी १६ वर्षीय क्षितिज राईको दैनिकी ह्वील चियर अभावमा मुढामा बसेर बित्ने गरेको छ ।
बिहान उज्यालो भएसँगै हजुरआमाले घरको सिकुवामा मुढामा राखिदिएपछि साँझ नपरेसम्म उनको सम्पूर्ण समय त्यही बित्ने गरेको हो । उमेर १६ वर्ष भए पनि उनी हेर्दा चार÷पाँच वर्षका देखिन्छन् । मुखबाट २४सै घण्टा ¥याल चुहिरहन्छ । राम्रोसँग टाउको ठाडो नहुने उनको बोलीसमेत आउँदैन । उनको हात खुट्टा पनि चल्दैनन ।
जन्मिएको सात महिनामै उनलाई छाडेर हिँडेका बाबुको हालसम्म अत्तोपत्तो छैन । आमा रोजगारीको सिलसिलामा कतारमा छिन् । उनलाई मावलकी हजुरआमाले हेरचाह गर्दै आउएका छन् । ६७ वर्षीया हजुरआमा चन्द्रमाया सुब्बाले भने, “जन्मिँदा साढे चार किलोको थियो मेरो नाति । सात महिनाको हुँदा निमोनिया भयो भन्दै डाक्टरले सुई हानिदिँदा नातिको यो हालत भयो ।” नातिलाई के भएको हो भन्ने पनि उनलाई पत्तो छैन । पक्षघात भएका नातिलाई स्याहार्दै १६ वर्ष बिताएकी चन्द्रमायाले भनिन्, “ह्वील चियरसम्म पाए पनि बाहिरभित्र गराउन सजिलो हुने थियो । कति दिन मुढालाई उल्टाएर नातिलाई राख्नु ।” ठूलो प्लाष्टिकको डोरीले बुनेको मुढालाई उल्टाएर उनलाई वषौं देखि राखिँदै आएको छ ।
क्षितिजलाई अपाङ भएको कार्डका लागि वडाले सिफारिस नदिँदा समस्या भएको हजुरबुबा कुमार लिम्बूले बताए । “धेरैपटक वडाध्यक्षलाई भन्यौँ”, उनले भने, “खै चासो नै दिएनन् । कहाँ जाने कसलाई भन्ने ।” अपाङ्गता भएको कार्डसमेत बने पनि सरकारले दिने सुविधाले उनलाई राहत पुग्ने बाहुनडाँगी जेसीजका कार्यकारिणी उपाध्यक्ष देबु बानियाँले बताए । पटकपटक जनप्रतिनिधि र अपाङ्गताका क्षेत्रमा काम गर्नेलाई कार्ड र ह्वील चियरका लागि अनुनय विनय गर्दासमेत बेवास्ता गरेको बानियाँको आरोप छ । अपाङ्ग समन्वय समिति मेचीनगरका सदस्य गङ्गा सङ्ग्रौलाले उनका बारेमा जानकारी लिएर हालसम्म कोही पनि नगरपालिका नआएको बताए ।
वडाले सिफारिस गरेको कागजात र डाक्टरले जाँच गरेर छुट्याइदिएको अपाङ्गताको वर्गका आधारमा भत्ता वितरण गरिने जानकारी दिँदै उनले भने, “१६ वर्षभन्दा सानो उमेर भएमा अनिवार्य जन्मदर्ता र त्योभन्दा माथिको उमेर भएमा सिफारिस गर्दा अनिवार्य नागरिकता चाहिन्छ ।” दुवै नभएका कारण उनी भत्ताबाट वञ्चित बन्न पुगेको भए बुझेर समन्वय गर्ने उनले बताए ।
COMMENTS