वीरगञ्ज, १८ साउन । कोरोना भाईरसका पर्सामा ४५ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका उनले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ४३ जना वीरगञ्जका रहेको प्रयोगशालाले जानकारी दिएको छ । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तैगरी अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
COMMENTS