नेकपा विवादः ओली र प्रचण्ड संवाद गर्दै, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौँ, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान बालुवाटारमा छलफल गर्दैछन् । उक्त छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् ।

स्रोतका अनुसार दाहालले खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पौने दशबाट सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाको भनाई छ । प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । 

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।

साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए । तर अध्यक्ष प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए । सो बैठकमा २९ जना स्थायी कमिटीका सदस्यको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु गलत भएको ठहर बैठकले गरेको थियो ।

सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरेर सार्वजनिक गरेका थिए । सो प्रस्ताव प्रधानमन्त्री ओलीको पक्षमा थियो । अध्यक्ष प्रचण्डको गुटमा रहेका वामदेव गौतम एकाएक ओलीलाई सहयोग पुग्ने गरी ल्याएको प्रस्तावले अध्यक्ष प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board