ओली-प्रचण्डबीच सकारात्मक ‘संवाद’, के-के भयो छलफल ?

काठमाडौँ, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज नौ दिनपछि भएको भेटवार्तामा सकारात्मक छलफल भएको छ । अध्यक्षद्वय ओली र दाहालले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेका हुन् ।

दुई अध्यक्षबीचको बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो संवाद सकारात्मक भएको स्रोतले बताएको छ । अघिल्लो सातादेखि नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीचको भेटवार्ता हुन सकिरहेको थिएन । तर, लामो संवादहीनतापछि आज बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार आज भएको भेटवार्तामा सकारात्मक छलफल भएको छ । र शुक्रबार पुनः छलफल गर्ने सहमति भएको छ । आजको भेटवार्तामा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको छ ।

दुई अध्यक्षबीच संवाद र सहमति जुटाउन महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्मा लगायत कोशिषमा लागेका थिए । बिहीबारको ओली र दाहाल संवादमा केही समय पौडेल, पोखरेल र शर्मा पनि बसेको खबर छ ।

नेकपा स्थायी कमिटी बैठक असार १० बाट सुरु भएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्‍‍नुपर्ने अडान थिए । बुधवार नै अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई र उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए ।

यो पनि
बालुवाटार पुगे प्रचण्ड, ओलीसँग छलफल शुरु

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board