काठमाडौं, २ भदौ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले बताए ।
गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।
पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, पे्रसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए । डा. खड्काले का अनुसार ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको उनले बताए ।
काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु
काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । कार्यविधिअनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरेको उनले जानकारी दिए । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बाँकेमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए। सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको हो ।
COMMENTS