‘संघीय कानून नबन्दा शान्ति-सुरक्षा कायम गर्न कठिनाइ भएको छ’

लकडाउनको अवधिमा हत्या हिंसाको घटनामा सामान्य बृद्धि भएको तथ्याकंले देखाएको छ । मुलुकका सात प्रदेशमध्ये सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील रहेको प्रदेश २ मा लगभग दिनहुँ हत्या हिंसाका घटना सार्वजनिक भैरहेका छन् । लकडाउनको अवधिमा प्रदेश २ मा २२ प्रकारका ६ सय ९ जघन्य अपराधका घटना भएका छन् । केही दिन अगाडि मात्र रौतहटमा एक युवकको हत्यापछि मन्दिरका एक पुजारीलाई संसाँझै गोली हानी हत्या भएको छ । यसै सन्दर्भमा रहेर प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लसँग अनन्त अनुरागले गरेको कुराकानीको अंशः

मन्त्रीज्यू तपाई आफैं कोरोना संक्रमित हुनुहुन्थ्यो, तपाईको स्वास्थ्य स्थिति अहिले कस्तो छ ?
यादव : अहिले म एकदम स्वस्थ छु । मेरो कोरोना पोजेटीभको रिपोर्ट आएपनि म मा कुनै किसिमको लक्षण थिएन । १५ दिन म होम आइसोलेसनमा अनुशासनपूर्वक बसें । आइसोलेसनमा बन्दाखेरी विश्व स्वास्थ्य संगठनको जुन मापदण्ड छ, नेपाल सरकारले जारी गरेको जुन कोरोना निर्देशिका छ त्यसको अक्षरशः पालना गरें । अनुशासनपूर्वक आइसोलेसनमा बस्दा अहिले नेगेटिभ रिपोर्ट आएको छ । त्यसपछि म आजैदेखि मन्त्रालयको काममा खटिएको छु ।

एउटा मन्त्रीको हैसियतले सोधें, आम जनता पनि संक्रमणको चपेटामा रहेका छन् । संक्रमित भैसकेपछि आफूलाई कसरी संयमित, मर्यादित र अनुशासित राख्ने ? के कस्ता क्रियाकलाप गर्दा छिट्टै संक्रमण मुक्त हुन सकिन्छ ? तपाईको अनुभव साझा गर्नुस् न दर्शकसँग ।
यादव : निश्चित रुपमा विश्व नै कोरोना भाइरसको संक्रमणको चपेटाबाट एकदमै त्रसित अवस्थामा छ । यो विश्वभरी महामारीको रुपमा चौतर्फी रुपमा फैलिएको छ । यो सरुवा रोग भएको हुनाले यो रोगलाई लुकाउनु हुँदैन । यो रोग जसलाई पनि लाग्ने सम्भावना रहन्छ । त्यसकारण यो रोग लागिसकेपछि, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हामी अनुशासित भएर अमल गर्नुपर्ने हुन्छ । लागिसकेपछि सकभर आफूबाट अन्य व्यक्ति वा परिवारका सदस्यमा नसरोस् भन्ने कुरा ध्यानमा राख्नुपर्ने हुन्छ । आफनो सम्पर्कमा आएका मान्छेहरुलाई जानकारी गराएर तत्कालै टेष्ट गर्नका लागि उहाँहरुलाई सुझाव दिनुपर्छ ।

प्रदेश २ मा जति पनि हत्याहिंसाका घटना भएका छन, त्यसमध्ये लगभग ९० प्रतिशतभन्दा बढी घटनाका दोषीलाई कानूनको दायरामा ल्याइसकेका छौं

मैले त्यही हिसावमा म संक्रमित भई सकेपछि मेरो सम्पर्कमा आउनुभएका सबैलाई त्यही हिसावमा सुझाव पनि दिएँ । म आफू होम आइसोलेसनमा बसें, होम आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीको सल्लाह सुझाव, विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरै अनुसरण गरेर बसें, खास गरेर बिहान र बेलुका २ घण्टा योग, शारीरिक व्यायाम गरें, तीन पटक करहा (घरेलु औषधी) पिउने काम गरें । विहान र बेलुका तातो दुधमा बेसार हालेर खाएँ । त्यसपछि म आफनो बेडरुम, बाथरुम, खाएको थाल, लुगा कपडा आफैं सफा गरें ।

जसले गर्दा के भयो भने मलाई लागेको कोरोना अरुमा सर्न पाएन र म पनि छिट्टै निको भएर काममा फर्केको छु । त्यसकारण म प्रदेश २ का जनता लगायत देशका अन्य भागका जनतालाई पनि अनुरोध गर्न चाहन्छु, यो कोरोना भाइरस लागिसकेपछि हामी उच्च मनोबलका साथ हराउन सकिन्छ । जुन स्वास्थ्य गाइडलाइनहरु छन, त्यसलाई अनुशासित भएर दैनिकीमा लागू ग¥यो भने कोरोना भाइरसको संक्रमणबाट जितेर पुनः स्वस्थ हुनसक्छौं । र अन्यलाई सर्न नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं ।

प्रदेश २ मा लकडाउनको अवधिमा थुप्रै हत्या हिंसाका घटना दिनहुँ भैरहेको देखियो । प्रदेश सरकारले शान्ति सुरक्षाका लागि काम नै गर्न सकेन भन्ने आरोप पनि लाग्ने गरेको छ, के कारण यस्तो घटनाहरु भैरहेका छन् ?
यादव : जुन प्रकारका घटना भैरहेका छन्, निश्चित रुपमा यो एकदमै दुःखद् हो । यस्तो किसिमका घटनाहरु हुनुहुँदैन । यसलाई रोक्न र न्युनिकरण गर्न प्रदेश सरकार र सुरक्षा निकाय उच्च मनोबलका साथ, दृढताका साथ लागेका छन् । तथापि यस्ता घटना प्रदेश २ मा मात्र होइन अन्य प्रदेशमा पनि उत्तिकै भैरहेका छन् ।

यस्ता हत्याहिंसाका घटनालाई निस्तेज पार्न जरुरी छ । यसका लागि प्रदेश सरकारले सुरक्षासम्बन्धी रणनीति बनाएर हामी अगाडि बढिरहेका छौं, र अहिले जुन किसिमको घटना घटेका छन् यसका दोषीहरुलाई कानूनको परिधिभित्र ल्याएर सजाय दिने काम गरिरहेका छौं । प्रदेश २ मा जति पनि हत्याहिंसाका घटना भएका छन, त्यसमध्ये लगभग ९० प्रतिशतभन्दा बढी घटनाका दोषीलाई कानूनको दायरामा ल्याइसकेका छौं । भर्खरै, रौटहटमा जुन एकजना मन्दिरको पुजारीलाई गोली हानी हत्या गरिएको छ, त्यसलाई सुरक्षा निकायले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । हामीलाई विश्वास छ, छिट्टै हामी यो घटनाका दोषिलाई कानुनको दायरामा ल्याउने छौं ।

आपराधिक गतिविधि गर्ने मान्छेका लागि यो प्रदेश उचित होइन, प्रदेश २ छोडन बाध्य बनाउछौं । यसका लागि हामीले विशेष रणनीति पनि बनाइसकेका छौं हामी सोहीअनुसार अगाडि बढ्छौं । तथापि केही घटनाहरु भएका छन्, यस्ता घटना कम गर्नका लागि प्रदेश सरकार र प्रदेशभित्रका हरेक सुरक्षा निकाय दृढताका साथ प्रतिबद्ध भएर अगाडि बढिरहेका छन् ।

लकडाउनको अवधिमा प्रदेश २ को तथ्यांक हेर्दा हत्याहिंसाका घटनामा बृद्धि भएको देखिन्छ, यसरी हेर्दा प्रदेश २ मा सुरक्षा चुनौति बढेको हो ? कहाँनिर कमीकमजोरी भयो ?
मल्ल : हामीले प्रदेश २ मा मात्रै होइन, पूरा देशलाई नै कोरोनासँग जोडेर हेर्नुपर्ने हुन्छ । लकडाउन सुरु भएपछि म निरन्तर दुई–तीनवटा विषयमा बोलिरहेको छु । लकडाउनले सबैभन्दा बढी असर प¥यो सामाजका तल्लो वर्गलाई । त्यो विस्तारै माथि सर्दै आइरहेको छ, मध्यम वर्ग, उच्च–मध्यम हुँदै । आर्थिक कारण, सामाजिक कारण, मनोवैज्ञानिक कारण एकातिर छ । अर्काे हेर्ने हो भने, प्रहरीको जुन जिम्मेवारी छ नि, दैनिक शान्ति–सुरक्षा बहाल गर्ने, कोरोनाले गर्दा कता कता प्रहरी अर्काेतिर व्यस्त हुनुपरेको छ ।

यसरी हेर्दा अपराधका घटनामा बृद्धि हुन्छ भन्ने मेरो पूर्वानुमान थियो । आत्महत्या, लुटपाट चोरी, क्रस बोर्डर अपराध, सिमानाका खुल्ला भएको हुनाले कोठामा ढोका लगाएजस्तो हुन्न । आँखा छलेर ओहोर दोहोर भई राख्ने हुन्छ । अर्काे महत्वपूर्ण पक्ष भनेको अहिले कोरोनाको कारणले लगभग २२ प्रतिशत मान्छेले रोजगार गुमाएको अवस्था छ । यो कहीं न कहीं सामाजिक, आर्थिक, राजनीतिक विषयसँग जोडिएको विषय भएको हुनाले यसले अपराधमा पनि फरक पार्छ । अहिले हेरौं न सरकारप्रति हामी एकदमै आक्रामक भएका छौं ।

नेपाल प्रहरीमा अलिक बढी राजनीतिकरण भयो कि ? जुन सरुवा बढुवामा राजनीतिक हस्तक्षेप भएको देखिन्छ । सरुवा गर्दा उचित ठाँउमा उचित व्यक्ति पठाउनुपर्ने हुन्छ । प्रहरीभित्र अरनखटनको कुराले पनि प्रभाव पारेको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धान स्थानीय सरकारको विषय हो । संविधानको अनुसूचिले पनि स्पष्ट रुपमा भनेको छ । यसो हेर्दा सामान्य लागे पनि यसले अपराध नियन्त्रण र न्युनिकरणमा असर पारेको जस्तो लाग्छ ”

नेपाल प्रहरीसँग विभिन्न निकायहरु छन् तर पनि अपराधका घटना रोकिएनन् ? निरन्तर हत्याहिंसाको संख्यामा बृद्धि भएको देखिन्छ नि ?
मल्ल : २०७२ पछि हामीले अपराधको ग्राफ हेर्ने हो भने, लगभग १०, १५ को हिसावले बृद्धि भैरहेको पाइन्छ । यसमा केही कारण छन् । नेपाल प्रहरीमा अलिक बढी राजनीतिकरण भयो कि ? जुन सरुवा बढुवामा राजनीतिक हस्तक्षेप भएको देखिन्छ । सरुवा गर्दा उचित ठाँउमा उचित व्यक्ति पठाउनुपर्ने हुन्छ ।

प्रहरीभित्र अरनखटनको कुराले पनि प्रभाव पारेको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धान स्थानीय सरकारको विषय हो । संविधानको अनुसूचिले पनि स्पष्ट रुपमा भनेको छ । यसो हेर्दा सामान्य लागे पनि यसले अपराध नियन्त्रण र न्युनिकरणमा असर पारेको जस्तो लाग्छ ।

प्रदेश सरकारले गरेको प्रयास पर्याप्त भएन कि ? प्रयासअनुसारको परिणाम अपेक्षाकृत रुपमा आएन, प्रदेश सरकार र सुरक्षा निकायबीच समन्वयको कमी देखियो । समन्वयको कारणले नै अपराधका घटना बढेका हुन् ?
यादव : अघि हेमन्त मल्ल सरले एकदमै सही कुराहरु ल्याउनुभएको छ । प्रदेश २ मा जनघनत्व हेर्नुस्, खुल्ला बोर्डर छ । प्रदेश २ मा प्रहरीको दरबन्दी ९ हजार छ, तर अहिले खटिएका छन केवल ६ हजार मात्रै । शान्ति–सुरक्षाबाहेक अहिले प्रहरीको काम अझै थपिएको छ । कोरोना भाइरस संक्रमणको रोकथाममा पनि प्रहरी खटिएका छन् । प्रहरीमाथि अहिले थप जिम्मेवारी आएको देखिन्छ । पहिलो कुरा त मानव स्रोत कम भयो ।

अर्काे कुरा भौगोलिक रुपमा हेर्दा प्रदेश २ को खुल्ला बोर्डर भएको, सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी भएको जनता, वैदेशिक रोजगारमा पनि सबैभन्दा बढी प्रदेश २ बाट गएका थिए, तिनीहरु अहिले रोजगारी गुमाएर घर फर्केका छन् । यी कारणहरुले गर्दा अहिले हामीमाथि अलि बढी चुनौती थपिएका छन् । यसका लागि जुन किसिमले संघीयता आई सकेपछि प्रहरी समायोजनको सवालमा संघीय सरकारले पनि अलिक जिम्मेवारीपूर्वक काम र व्यवस्थापन गरिदिएको भए एक किसिमको समस्या समाधान हुन सक्थ्यो ।

त्यसो भए जनताले शान्ति सुरक्षा, सुशासनको अनुभूति कहिलेबाट गर्न पाउने ?
यादव : हामी संघीय सरकारलाई आग्रह गरिरहेका छौं । हामीले भोगेका कठिनाईहरुको बारेमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले भेटेर संघीय सरकारलाई आग्रह गरेका छौं । जति छिटो संघीय सरकारले ऐन कानून बनाएर कार्यन्वयन गरी काम गर्न सहज बनाउँछ, हामी एकवर्षभित्र जनतालाई अनुभूति हुने गरी शान्ति सुरक्षाको प्रत्याभूति गराउन तत्पर छौं । कतिपय काम एकवर्षमा नहोला तर कम्तिमा त्यसका सकारात्मक परिणामहरु देखापर्नेमा म विश्वस्त छु ।


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board