देउवालाई हराउन मैले मात्रै सक्छु : महामन्त्री कोइराला

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले दाबी गरे ।

महामन्त्री कोइरालाले पार्टी सभापतिको दौडमा अरु नेताहरुसमेत रहेको भए पनि देउवालाई पराजित गर्न आफू मात्र सक्षम रहेको उनको भनाई छ । महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए । महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेकोमा उनले असन्तुष्टि जनाए ।

सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको गुनासो छ । पार्टीभित्र जतिसुकै विरोध भए पनि सभापति देउवाले नसुन्ने गरेको गुनासो गर्दै कोइरालाले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए ।

महाधिवेशनका बेला पार्टीमा गुट उपगुट हुनु स्वभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको कोइरालाले बताए । आफू सभापतिमा निर्वाचित भए सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने उनकोे तर्क छ । अर्को प्रसंगमा महामन्त्री कोइरालाले बर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको बताए । सरकारले पटक–पटक संविधान र कानून विपरित काम गरिरहेको उनको आरोप छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board