डा.चिरनशमशेर थापाको पेशागत जीवनको चार दशक राजा वीरेन्द्रसँग राजदरवारमा रहेर नीतिनिर्माण र कार्यान्वयनमा वित्यो । राजाको सक्रिय शासन रहेको त्यो कालखण्डका कतिपय घटनाका साक्षी चिरनसँग नेपाल पेजका ध्रुब अधिकारी र सपना थामीले गरेको अन्तरंग संवादको दोस्रो आलेखः
राजा महेन्द्र्रको सर्वाङ्गीण विकासको भिजन अधुरै रह्यो
चिरनशमसेरले तीन राजाको कार्यकालमा ४० बर्षभन्दा बढी राजदरवारमा काम गरे । त्रिभुवनको सन् १९५५ मै देहावसान भएका कारण आफूले भेट्न नपाएको तर, राजा महेन्द्रकै कार्यकालमा वीरेन्द्र्र युवराज हुँदा दरबारमा काम गरेको उनी बताउँछन् । ‘३८/३९ वर्ष काम त वीरेन्द्र्रसँग गरें’, राजदरवारसँग जोडिएका दिनहरुबारे उनी सम्झन्छन्– ‘राजा महेन्द्रको कहिलेकाहीं दर्शन पाउँथे । उहाँले कहिलेकाहीं सोधिबक्सन्थ्यो, के छ ? कस्तो छ ? भनेर । उहाँको चरित्र, काम गर्ने शैली एकदम उच्चस्तरको थियो, पूरा देश र जनतामा समर्पित ।’
‘राजा महेन्द्रको देश विकास गर्ने ठूलो सपना थियो, तर उहाँ १७ वर्षमात्रै राजा होइबक्स्यो,’ उनी भन्छन्– ‘उहाँको नेपालको सर्वाङगिण विकास गर्ने जुन भिजन थियो, त्यो पूरै साकार पार्न सकिबक्सिएन, उहाँको चाडै देहावसान भयो, उहाँको सपना अपूरै रहन पुग्यो ।’ राजा वीरेन्द्र्रले पनि तत् समयमा आफू त्यति छिट्टै राजा हुन्छु भन्ने सोचेका थिएनन् । वीरेन्द्र युवराज हुँदादेखि नै देशको परिस्थिति र भूगोल बुझ्ने भन्ने लागेर वर्षको २, ३ महिना काठमाडौं बाहिर बस्ने इच्छा गर्दथे । उनी पहिलोचोटी इलाममा २, ३ महिना बिताएका थिए । यसैगरी, देशको १४ अञ्चल नै सबै घुम्ने र बस्ने भन्ने भए पनि परिस्थिति यस्तो बनेन । किनकि, तात्कालीन महाराजधिराज महेन्द्र वीरविक्रम शाहदेवको अल्पायुमै मृत्यु भयो । यसकारणले पनि युवराज वीरेन्द्रले आफूले सोचेजस्तो भएन ।
‘राजा महेन्द्रको देश विकास गर्ने ठूलो सपना थियो, तर उहाँ १७ वर्षमात्रै राजा होइबक्स्यो,’ उनी भन्छन्– ‘उहाँको नेपालको सर्वाङगिण विकास गर्ने जुन भिजन थियो, त्यो पूरै साकार पार्न सकिबक्सिएन, उहाँको चाडै देहावसान भयो, उहाँको सपना अपूरै रहन पुग्यो ।’
डा.चिरनशमशेर थापा
राजा महेन्द्रले नेपालको सर्वाङ्गीण विकासका लागि नेपालको सम्पूर्ण भूगोललाई ४ विकास क्षेत्रमा विभाजन गरेका थिए, यसलाई वीरेन्द्रले निरन्तरता दिदै थप एउटा मध्यपश्चिमाञ्चल विकास क्षेत्र थप गरी ५ वटा विकास क्षेत्रको निर्माण गरे । सो अनुरुप, आफ्ना पिताको राष्ट्रनिर्माण र विकास निर्माणको सपनालाई साकार रुप दिने प्रयत्न गरे । यसअघि राजा महेन्द्रले भने नेपालको भूगोललाई पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल गरी विकास क्षेत्रमा विभाजन गरेका थिए ।
वीरेन्द्र राजा भईसकेपछि पनि धेरैजसो समय विभिन्न विकास क्षेत्रहरुमा नै बिताए । धनकुटा, हेटौडा, पोखरा, सुर्खेत, डोटी लगायतका सदरमुकामहरुमा राजा वीरेन्द्र्रसँगै चिरनशमशेर थापा पनि १५–२० पटक गएका थिए ।
वीरेन्द्र्रले पनि नेपालको विकासका लागि थालेका कामहरु केही हदसम्म सफल भए भने, केही बाँकी नै रहे । चिरन भन्छन्– ‘जनताले चाहेको परिवर्तनलाई राजा वीरेन्द्र्रले सहजै खुला दिलले स्वीकारिबक्सेको थियो । त्यस समय दरबार सर्वशक्तिमान थियो, म केही हदसम्म मान्छु, दरबारका उच्च तहको कर्मचारीहरु विशेषगरी, राजा महेन्द्रको पालीमा र राजा त्रिभुवनको पालीमा पनि उनीहरुले शक्तिको दुरुपयोग पनि गरे । तर राजा वीरेन्द्र्र चाही कुनै पनि सचिवलाई आफ्नो औकातभन्दा बढी हुन दिइबक्सन्नथ्यो ।’
वीरेन्द्र भने सकेको बेला राजाले जनतालाई नेतृत्व दिने र नसक्या बेला जनताको नेतृत्व राजाले पनि स्वीकानुपर्छ भन्ने पक्षमा थिए । तथापि, त्यसबेला वीरेन्द्रलाई बीचबीचमा उकास्नेहरु पनि थिए, उनीहरु राजाकै शासन, सरकार र प्रशासन हुनुपर्छ भनेर उक्साउँथे । तर राजा वीरेन्द्र भने सदैव जनताको प्रतिनिधित्वले राज्य गर्ने, सक्या बेला जनतालाई सहयोग गर्ने पक्षमा भएकोले आफ्नै सरकार भएपनि यसो गर, उसो गर भनेर निर्देशन भने दिंइबक्सनथ्यो, चिरनले भने ।
जनताले चाहेको परिवर्तनलाई राजा वीरेन्द्र्रले सहजै खुला दिलले स्वीकारिबक्सेको थियो । त्यस समय दरबार सर्वशक्तिमान थियो, म केही हदसम्म मान्छु, दरबारका उच्च तहको कर्मचारीहरु विशेषगरी, राजा महेन्द्रको पालीमा र राजा त्रिभुवनको पालीमा पनि उनीहरुले शक्तिको दुरुपयोग पनि गरे । तर राजा वीरेन्द्र्र चाही कुनै पनि सचिवलाई आफ्नो औकातभन्दा बढी हुन दिइबक्सन्नथ्यो ।’
डा.चिरनशमशेर थापा
राजा वीरेन्द्र ट्रकमा दरबार छिर्दा सबै आश्चर्यचकित
राजा वीरेन्द्र्र एक दिन सर्वसाधरणको भेषमा घुम्न, फिर्न चाहिरहेका थिए । सोहीअनुरुप सर्वसाधारण बटुवाले समेत थाहा नपाउने गरी चिरनशमशेरसँगै चिसापानी क्षेत्र पुगेका थिए । वीरेन्द्र्रकै इच्छाअनुसार एउटा स्कूलमा बास बस्ने गरी पुगे । चिसापानीगढीको बडाहाकिम चिरनशमशेर थापाका बुवा थिए तर यो कुरा राजालाई थाहा थिएन ।
उक्त स्कूलमा बास बस्ने क्रममा यहाँ बास पाइन्छ ? भन्दै उनीहरुले बास मागे । राजा वीरेन्द्र्र र उनका दुई जना भाईहरु, केही स्टाफहरु र एडीसीहरु गरि उनीहरुको ७, ८ जनाको टिम थियो । घुम्ने क्रममा उनीहरुले गोठमा पनि रात काटे । यसरी घुम्ने क्रममा सुरु–सुरुमा त जनताले थाहा पाएका थिएनन् तर पछि भने अन्दाज लगाइहाले ।
वर्षायाम थियो, घुम्नेक्रममै एक ठाउँमा पहिरो गयो र राजा वीरेन्द्र र चिरनशमशेरको टोली फर्कनुपर्ने भयो । त्यतिबेलासम्म जनताले पनि राजा भनेर थाहा पाइसकेका थिए । ल्याण्डरोभर गाडीमा राजा वीरेन्द्र्रको टोली फर्किरहँदा बीचमै पहिरोका कारण गाडी चल्न सक्ने अवस्था रहेन र वीरेन्द्रसहित सबैजना पैदल हिंडेर फर्कंदै गर्दा एउटा ट्रकलाई भेटियोे ।
ट्रक चालक एकजना सरदार रहेछन्, वीरेन्द्र भने ड्राईभरसँगैको सिटमा बसे भने, चिरनशमशेर लगायत अरु ट्रकको पछाडिपट्टी बसे । ड्राईभर सरदारलाई कहाँ जाने, कसरी जाने भन्ने विषयमा भने राजाका एडीसीहरुले काठमाडौंको रानीपोखरी जानुपर्छ भनेर पहिले नै भनेका थिए । काठमाडौंको रानीपोखरी नजिकै गाडी आईपुग्यो र ड्राईभरले पुनः साधें, अब कता जाने भनेर ? एडीसीहरुले अलि अगाडी बढ्दै गर्नुस्, हामी भन्छौं भन्दै दरबार अगाडि गाडी रोक्न लगाए । यसरी एक्कासी राजदरबार अगाडी ट्रक रोकिंदा ड्राईभर सरदार त तीनछक् परेका थिए नै, दरबारका अरु सबै पनि राजा त ट्रकमा भनेर तीनछक्क परे !
चिरन सम्झन्छन्– ‘अलि पछिको कुरा हो, राजा वीरेन्द्र्रकी छोरी श्रुति राज्यलक्ष्मीको विवाह भैसकेको थियो, उहाँको घर दरबार नजिकै थियो । उहाँ हिडेरै छोरीको घरमा आउजाउ गरिबक्सन्थ्यो । त्यस्तै एकपटक, एक जना मन्त्रीको घरमा पनि पूर्वराजा वीरेन्द्र्र हिडेरै भेट गर्न पुगिबक्स्याथियो । ’
उपत्यकाबाहिर विभिन्न जिल्लातिर हुँदा पनि राजा वीरेन्द्र्र जनताहरुको कुरा सुन्न एकदम इच्छुक हुन्थे । राजाबाट निर्देशन पाऊँ भनेर भन्दाखेरी, वीरेन्द्र्रले आफ्नो इच्छाले, आफ्नो ब्रह्मले जे भन्छ त्यही गर्नुस् भन्थे । दुःखी, गरिब, असहाय र विपन्न जनतालाई लाइन लगाएर भेटघाट गर्ने र केही पैसा पनि दिने गर्दथे । चिरन भन्छन्– ‘एक पटक त म आफैं तीनछक पुर्याउँछ । असहायहरुलाई त्यतिबेलाको ५ सय रुपैंया बाँड्ने चलन थियो, अहिले त त्यसको ५ हजार जति हुन्छ होला । एकजना कुप्रो परेको मान्छे थियो, राजाबाट त्यो ५ सय पाउने बित्तिकै जुरक्कै उठ्यो, हिड्न थाल्यो । त्यस्तो पनि देख्या’छु कहिलेकाहीं, आफैंलाई नै पत्याउन गाह्रो’
दरबारमा भेट गर्न आउने महिलाहरुलाई भने तात्कालीन बडामहारानीले भेट्ने गर्थिन् । ती महिलाहरुले आफ्नो समस्याहरु उनीसमक्ष पोख्ने गर्थे । बहामहारानीबाट पनि यो पुरुषकेन्द्रित समाज छ, विस्तारै विकसित गर्दै लानुपर्छ भनेर जवाफ आउँथ्यो । छोरीहरुलाई पनि छोरा जत्तिकै महत्व गर्ने, शिक्षा दिने, पढाउने भन्नुपर्छ भनेर भन्थिन् ।
डा.चिरनशमशेर थापा, फोटो – ध्रुब अधिकारी
‘एक पटक त म आफैं तीनछक पुर्याउँछु, असहायहरुलाई त्यतिबेलाको ५ सय रुपैंया बाँड्ने चलन थियो, अहिले त त्यसको ५ हजार जति हुन्छ होला । एकजना कुप्रो परेको मान्छे थियो, राजाबाट त्यो ५ सय पाउने बित्तिकै जुरक्कै उठ्यो, हिड्न थाल्यो । त्यस्तो पनि देख्या’छु कहिलेकाहीं, आफैंलाई नै पत्याउन गाह्रो ’
जनताका छोराहरु युवराजसँगै राजदरबारमा
त्यसताका विभिन्न ठाउँबाट ठिटाहरु ल्याएर दरबारमा राख्ने गरिन्थ्यो । ताकि, राजदरबारका युवराज लगायत अरुले पनि देशको परिस्थिति कस्तो छ भन्ने थाहा पाउन सकोस् र यसबारे ज्ञान होस् । चिरन सम्झन्छन्– ‘राजारानीले पनि ती केटाकेटीहरुलाई आफ्नै सन्तानसरह व्यवहार गर्थे । दरबारमा सबैभन्दा पछिचाहिं धनकुटाबाट एकजना केटा ल्याइएको थियो । त्यसो त रानीको पढाइ पनि राम्रो थियो ।
यसकारण पनि होला, रानीले बाहिरबाट ल्याएकाहरुलाई पनि आफ्नो छोराछोरीलाई सरह नै व्यवहार गरिबक्सिन्थ्यो । दरबारमै खाने, दरबारमै खेल्ने, मोटर हाँक्न सिक्ने, सिकाउने, स्कूल जाने, पुर्याउने गरिन्थ्यो । तर पनि, दरबारमा बस्यो भन्दैमा स्कूलले भने कुनै विशेष व्यवहार भने नगर्न दरबारको निर्देशन थियो ।’
राजा वीरेन्द्र्रले परिवारलाई पर्याप्त ध्यान दिएको भए, राजतन्त्रको अवस्था आजभन्दा फरक हुन्थ्यो
‘नेपाली वर्णमालामा पनि वीरेन्द्रको आफ्नै मान्यता थियो । मुख्यतः सबैले आ–आफ्नो काम, कर्तव्य गर्नुपर्छ भन्ने सोचका साथ कपुरी ‘क’ को साटो कर्तव्य ‘क’ गर्नुपर्छ भन्ने सोच उहाँको थियो,’ चिरन भन्छन्– ‘राजाको पनि जनताप्रति कर्तव्य हुन्छ भने अरुहरुको पनि कर्तव्य हुन्छ । सक्याबेला जनतालाई नेतृत्व दिने, नसक्याबेला जनताको नेतृत्व आफूले मान्ने भन्ने कुरा कर्तव्यबाट मात्रै निर्धारित हुन्छ भन्ने मान्यता राजा वीरेन्द्रको थियो ।’
राजा वीरेन्द्र्र आफ्ना सन्तानहरुलाई पनि यही कुराहरुमार्फत अगाडि बढाउन चाहन्थे । तर, आफ्नो काममा दिनमै १७/१८ घण्टा खट्ने भएका कारण परिवारलाई जति ध्यान दिनपथ्र्यो, त्यो ध्यान उनले दिन सकेनन् । राष्ट्रिय र अन्तराष्ट्रिय भ्रमणहरुले पनि उनको धेरै समय खाइदियो । चिरन बताउँछन्, – ‘शायद, उहाँले आफ्नो परिवारलाई ध्यान दिइबक्स्याभए, देशको हालत र राजतन्त्रकै हालत पनि अर्कै हुन्थ्यो कि ? यसकारण, आफ्नो बाबु, आमाले आफ्नो परिवारलाई, सन्तानलाई ध्यान दिने कुरामा चुक्नुहुन्न ।’
‘शायद, उहाँले आफ्नो परिवारलाई ध्यान दिइबक्स्याभए, देशको हालत र राजतन्त्रकै हालत पनि अर्कै हुन्थ्यो कि ? यसकारण, आफ्नो बाबु, आमाले आफ्नो परिवारलाई, सन्तानलाई ध्यान दिने कुरामा चुक्नुहुन्न ।’
डा.चिरनशमशेर थापा, फोटो – ध्रुब अधिकारी
सामरिक महत्व बुझेर नै राजा वीरेन्द्र्रले शान्तिक्षेत्रको प्रस्ताव ल्याए
‘आफूलाई जुन कुरा उपयुक्त लाग्छ, त्यस विषयमा गहन अध्ययन गर्ने, विचार गर्ने र अरुको पनि विचार सुन्ने बानी राजा वीरेन्द्र्रको थियो’,– ‘यसमा मुख्यतः दुई कुराहरुलाई लिन सकिने चिरन बताउँछन्– ‘एक त, नेपाल शान्तिक्षेत्र स्थापना गर्ने, भारत र चीन जस्ता दुई विशाल मुलुकबीच रहेको नेपालले आफ्नो अस्तित्व जोगाउन र सामरिक महत्वको वृद्धि विकास गर्ने । दुई, नेपालको सर्वाङगिण विकासमा गच्छेअनुसारको मात्रै वैदेशिक सहायता स्वीकार गर्ने, नेपालको शतप्रतिशत विकास नेपालीले नै गर्नुपर्ने भन्ने ।’
त्यसबेला भारतले पनि आर्थिकरुपमा विकास गर्न सकेको थिएन भने, चीनले पनि विकास गर्न सकेको थिएन । तर सामरिक महत्वमा भने यी दुवै छिमेकी देशहरु महाशक्ति भइसकेका थिए । त्यसैकारण, वीरेन्द्र्रले नेपाललाई शान्ती क्षेत्र घोषणा गर्नुपर्छ भन्ने योजना, लक्ष्य लिएका थिए । किनकि, नेपाल शान्ति क्षेत्र बन्यो भने, दुवै छिमेकी देशहरुलाई पनि फाइदा हुन्छ र बाँकी विश्वलाई पनि फाइदै हुन्छ भन्ने पञ्चशीलमा आधारीत विदेशनीति अगाडि बढाउनुपर्छ भन्ने धारणा वीरेन्द्रको थियो ।
‘शान्ति क्षेत्र घोषणाको समर्थनमा त्यसबेला १ सय १६ मुलुकले समर्थन पनि गरिसक्याथे ’, चिरन भन्छन् – ‘मेरो विचारमा राजा वीरेन्द्र्र रहिरहनुभएको भए, १–२ वर्षभित्रै भारतले पनि समर्थन गथ्र्यो । ’
विशेषत, नेपाल सामरिक महत्वको देश हो भन्ने कुरा वीरेन्द्रले राम्रोसँग बुझेका थिए । यसमा नेपाल शान्ति क्षेत्र घोषणा भएमा यी दुई छिमेकी मुलुकका विरुद्धमा एक देशका विरुद्ध अर्को कुनै पनि देशको प्रयोग गर्न दिन्नौं भन्ने थियो जसले गर्दा नेपाल पनि सुरक्षित रहने र पारस्परिक सम्बन्ध र विश्वलाई नै फाइदा पुग्ने भन्ने थियो । ‘शान्ति क्षेत्र घोषणाको समर्थनमा त्यसबेला १ सय १६ मुलुकले समर्थन पनि गरिसक्याथे ’, चिरन भन्छन् – ‘मेरो विचारमा राजा वीरेन्द्र्र रहिरहनुभएको भए, १–२ वर्षभित्रै भारतले पनि समर्थन गथ्र्यो । ’ तर त्यो बेला भारतमा पनि राजिव गान्धीको हत्या भयो, नेपालमा पनि नयाँ राजनीतिक परिवर्तन आयो । जसका कारण राजा वीरेन्द्र्रको पनि नेताहरु के चाहन्छन्, त्यही अनुसार अगाडि बढ्नुपर्छ भन्ने भनाइ रह्यो ।
त्यस्तै दोस्रो, नेपालको सर्वाङ्गीण विकासमा राजा वीरेन्द्र्रको छुट्टै आफ्नै भिजन थियो । नेपालको विकास नेपालीले नै गर्नुपर्छ भन्ने थियो । विदेशबाट सहयोग लिनुपर्छ, तर नेपालको शतप्रतिशत विकास नेपाली आफैंले गर्नुपर्छ, आफ्नो स्रोत र साधनको भरमा ऋण लिएर मात्रै होईन र नेपालीले गर्न पनि सक्छ । त्यो बेला आर्थिक वृद्धिदर पनि बढ्दै गएको थियो । त्यसमा शान्ति पनि होस् र समृद्धि पनि होस्, जनताको हितमा जे हुन्छ, त्यो होस् भन्ने थियो । र त्यो अनुसार देश अगाडि पनि बढिरहेको थियो । (यो आलेखको तेस्रो भाग बुधबार प्रकाशित हुनेछ)
यो आलेखको पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस्…
मेरो राजदरवार प्रवेशको प्रेरक राजा वीरेन्द्रको भद्रता र देशप्रेम – डा.चिरनशमशेर थापा
COMMENTS