काठमाडौं, १९ भदौ । कोरोना भाइरस कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीका शहरी क्षेत्रमा उच्च सर्तकता अपनाइए पनि ग्रामीण क्षेत्रमा भने वेवास्ता गरेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणबाट जोगिन अझै पनि चेतनाको अभाव कायमै छ । महामारीले विश्वव्यापी रुपमा अत्याइरहँदा पनि यस क्षेत्रका स्थानीयवासीले सामान्य अवस्थाको जस्तै दिनचर्या बिताइरहेका छन् । शहरी क्षेत्रमा सुरक्षाका उपायहरू अवलम्बन गर्ने गरेको देखिए पनि गाउँघरमा भने सचेतनाको न्यूनता देखिएको हो ।
मानिसको बढी भीडभाड हुने पश्चिम म्याग्दीका कतिपय स्थानीय तहका वडा कार्यालयमा सावुनपानी, मास्क र सेन्टिाइजरको समेत व्यवस्था गरिएको छैन । गाउँघरमा कोरोनाविरुद्धको स्वास्थ्य सुरक्षा सामग्रीको समेत अभाव रहेको पाइएको छ । गत आइतबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका— ७ मराङको वेसीमा म्याग्दी समाज न्यूयोर्क अमेरिकाले उपलव्ध गराएको राहत रकम बुझ्न आएका ५० जनाभन्दा बढी पहिरो पीडितले न मास्क लगाएका थिए न त अन्य कुनै स्वास्थ्य सुरक्षाका साधन नै प्रयोग गरेका थिए । यहाँसम्मकी पहिरोले पुर्याएको क्षतिको लगत सङ्कलनमा खटिएका सुरक्षाकर्मी र वडासचिवले समेत मास्क लगाएका थिएनन् ।
धौलागिरि गाउँपालिका—७ मराङका वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा कोरोना विरुद्ध चेतना कम भएको स्वीकार गरे। उनले भने, “अहिले गाउँमा पहिरो पीडितको समस्या नै कसरी समाधान गर्ने भन्ने ध्याउन्नमा सबै लागेका छौं, गाउँघरमा मास्क र सेन्टिाइजरको प्रयोग नगरी जथाभावी हिँड्ने प्रवृत्ति पनि व्याप्त छ ।”
यस्तै समस्या पश्चिम म्याग्दीका प्रायः सबै गाउँमा देखिएको छ । गाउँघरमा मेलापात, कुँवा पँधेराजस्ता भीडभाड हुने ठाउँमा समेत सामाजिक दूरीको कुनै वास्ता छैन । ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण र यसबाट जोगिने उपायबारे जनजेतना फैलाउन आवश्यक देखिएको पश्चिम म्याग्दीका पहिरो पीडितलाई सहयोग रकम वितरण गर्न मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न वडामा पुगेर फर्किनुभएका म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले कोरोना सङ्क्रमणको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । एउटा घरमा तीन÷चार वटासम्म मास्क पु¥यायौँ । तैपनि लापर्वाही भइरहेको छ । उनले भने “न मास्क लगाउँछन्, न त सामाजिक दूरी नै कायम गर्दछन् । सेन्टिाइजरको प्रयोग त परैको कुरा भयो ।” ग्रामीण समुदायमा कोरोना सङ्क्रमण फैलिहाल्यो भने त्यसले भयावह रुप लिने र थेग्नै नसकिने जनप्रतिनिधिको भनाइ छ ।
जिल्ला सदरमुकाम बेनीबजारमा भने कोरोना सङ्क्रमण रोक्नका लागि उच्च सर्तकता अपनाइएको छ । स्थानीय प्रशासनले म्याग्दी प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरेको छ । झोलुङ्गे पुलमा फलामे वार लगाएर ताला मारिएको छ । मास्क नलगाई बजारमा हिड्डुल गर्नेलाई सुरक्षाकर्मी नियन्त्रणमा लिएर सचेत बनाउने काम गरिएको छ । पसल, कार्यालय, बैंक तथा वित्तीय संस्थामा सावुनपानी र सेन्टिाइजर अनिवार्य राख्न लगाइएको छ ।
COMMENTS