डा.चिरनशमशेर थापाको पेशागत जीवनको चार दशक राजा वीरेन्द्रसँग राजदरवारमा रहेर नीतिनिर्माण र कार्यान्वयनमा वित्यो । राजाको सक्रिय शासन रहेको त्यो कालखण्डका कतिपय घटनाका साक्षी चिरनसँग नेपाल पेजका ध्रुव अधिकारी र सपना थामीले गरेको संवादको चौथो आलेख :
लालबाकसमा महत्वपूर्ण ऐतिहासिक दस्तावेजको संग्रह
२५० वर्ष लामो शाहबंशीय कालमा भएका जेजति महत्वपूर्ण दस्तावेज र अरु मुलुकसँग भएका सन्धिसम्झौताको मूल प्रति राजदरवारमा रहने गरेको लालबाकसमा राखिने गरेको चिरण बताउँछन् । तर मुलुकमा गणतन्त्र स्थापनापछि नारायणहिटी दरवार सरकारको स्वामित्वमा आएसँगै त्यो लालबाकस कोसँग छ भन्ने जानकारी कसैलाई पनि छैन । ‘नारायणहिटी दरबार संग्रहालयको वर्तमान हालत नाजुक बन्दै गएको छ । महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरुको सुरक्षा छैन ।
नारायण्हिटी संग्रहालयमा छैन, तत्कालीन लालबाकस,’ लिपुलेक, लिम्पियाधुरा र कालापानीकै सन्दर्भमा पनि सांसदहरु दरबार संग्रहालय जाँदा त्यहाँको व्यवस्थापनबारे चिरनशमशेरलाई भनेछन् । चिरनले भनेछन्, – ‘मैले दरबार छोडेको १७ वर्ष भैसक्यो, त्यहाँको व्यवस्थापनबारे थाहा छैन । हाम्रो ऐतिहासिक दस्तावेजहरुको संरक्षण हुनुपर्छ, लालबाकस दरबारमै रहन्थ्यो, राजा महेन्द्रसँग थियो ।
पछि वीरेन्द्र राजा भएपछि लालबाकसमा रहेका महत्वपूर्ण दस्तावेजहरुको प्रतिलिपि इतिहास शिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायण शाहको विषयमा पुस्तक लेख्दा लगेका थिए । त्यसअघि बाबुराम आचार्यसँग भएका कागजपत्रहरु तत्कालीन युवराज वीरेन्द्रलाई दिन्थे, युवराज वीरेन्द्रले तात्कालीन राजा महेन्द्रलाई दिइबक्सन्थ्यो ।
यसरी चाहेका महत्वपूर्ण कागजपत्रहरु, सामानहरु प्राप्त हुन्थे तर त्यो लालबाकस कहाँ छ, मलाई आज पनि थाहा छैन । मैले त्यो लालबाकस नदेखे पनि मलाई पूर्णविश्वास छ, त्यो पक्का छ, दरबारमै कहीं छ ।’
महाकाली नदी पश्चिममात्र भारत हो, महाकाली नदी सिमानदी होइन, पूरै नेपालको हो
सुगौली सन्धीबारे कुरा उठ्दा चिरन बताउँछन्– अब हेर्नुस्, हामीलाई चाहिने त त्यो मूल कपी नै हो । त्यो कपी मेरो विचारमा छजस्तो लाग्छ । त्यो कपी प्राप्त नभएपनि सुगौली सन्धिको धारा ५ ले स्पष्टसँग के भन्छ भने, महाकालीको पश्चिमपट्टि भारत, तात्कालीन बेलायत अधीनस्थ ईष्ट ईण्डिया कम्पनी, बेलायतले शासन गरेको भारत ।
महाकाली नदी सिमानदी होइन, महाकाली पनि पूरा नेपाली हो । महाकालीपूर्व पनि पूरा नेपाल हो । महाकालीको पश्चिमपट्टि मात्रै भारत । त्यस्तै मेचीको पनि स्पष्ट छ, मेचीको पूर्वपट्टि भारत र सिक्किम छ । मेचीको पश्चिमपट्टि पूरै नेपाल । तर मेरो विचारमा के छ भने, तत्काललाई जे छ मान्नुपर्छ । अब पूर्वकालमा के थियो भन्ने अहिले सान्दर्भिक हुँदैन ।
अहिलेको परिस्थितिमा हामीले शान्तिपूर्ण सम्बन्ध कायम गर्नुपर्छ । तर, हाम्रो हकचाहिं छोड्नुहुन्न, कुनै पनि हालतमा । चीनसँग हामीले सन्धि ग¥याथियौं, त्यो हामीले समयमै हस्ताक्षर ग¥यौं । त्यस्तै भारतसँग पनि ग¥या’छौ । त्यस्तै अन्य मुलुकहरु बेलायतसँग पनि, अमेरिकासँग पनि त्यस्तै सार्क मुलुकहरुसँग पनि ग¥यौं । समस्याहरु आउन सक्छन्, सकेसम्म समस्याहरु आउन दिनैहुन्न, आए पनि समयमै समाधान गर्नुपर्छ ।
कूटनीतिक पहल : बुद्धि पुगे चाँडो र नपुगे ढिला हुन्छ
मेरो स्पष्ट विचार के छ भने, हामी एक इन्च पनि विदेशी भूमिमा आँखा लाउन्नौं, हाम्रो भूमिबाट पनि विदेशीहरु हट्नुपर्छ । यो समयको कुरा हो, कूटनीतिको कुरा हो । धेरै कुरा कूटनीतिबाट समस्याको समाधान गर्न सकिन्छ । मेरो विचारमा हाम्रा प्रधानमन्त्रीहरुले मौका त पाएकै छन् । ७÷८ जना बीचमा नै प्रधानमन्त्री परिवर्तन भइसके ।
उहाँहरुले कुरा बुझ्नुभएको छ, पूरा देशले, जनताले के चाहिरहेका छन्, यस विषयमा सबैजना एक पनि भएका छन् । सिमानाको मात्रै कुरा होइन कि, नेपाल कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि उहाँहरुले बुझ्नुभएको छ । अब बुद्धि पुग्यो, कूटनीति अलि चाँडो हुन्छ । बुद्धि पुगेन भने कूटनीति अलि ढिलो हुन्छ त्यही हो ।
नेपालको पानीले भारतमा सिँचाई गर्न सके भारतसँग इन्टरडिपेन्डेन्ट सम्बन्ध निर्माण हुन्छ
वर्तमान सन्दर्भमा भारतसँग इन्टरडिपेन्डेन्ट सम्बन्ध हुनुपर्छ भन्नेमा आफू पुगेको चिरन बताउँछन् । उनी जोड्छन्,– भारतको जनसंख्या आगामी ३० वर्षमा ३४ करोडले बढेर जान्छ, जबकि, चीनको जनसंख्या ६, ७ वर्षपछि घट्दै जान्छ ।
चीनको जनसंख्या सन् २०५० मा सन् २०२० को भन्दा ९ करोडले कम हुन्छ । भारतको जमिनमा ५२ प्रतिशत भू–भाग खेतीयोग्य छ । हुन त, भारतमा सिंचाईको लागि पानीको मुख्य समस्या छ । नेपाल र भारतबीचमा ऊर्जाको व्यापार हुनु ठीक हो, भारतलाई चाहिएको बेलामा दिने, नेपाललाई चाहिएको बेलामा लिने ।
भारतमा मुख्यतः सिंचाईको समस्या छ र नेपालमा हामीहरु भन्छौं, नेपालमा ६ हजार नदीहरु छन्, जसमध्ये बहुसंख्यक नदीहरु भरततिरै बग्छन्, यसको सदुपयोग हुनुपर्छ । किनभने भारतमा जनसंख्या बढ्दैछ, नेपालको पानीबाट भारतमा सिँचाई भयो भने भारतसँग ईन्टरडिपेन्डेन्ट सम्बन्ध हुन्छ ।
म अचेल त्यस्मै व्यस्त छु, यसैको अध्ययन गरिरहेको छु । अब पुस्तकै निकाल्नुभन्दा अगाडि धेरै कुरा बुझ्नुपर्छ । मैले अरुका कुरा पनि सुनिरा’छु, यसको मुख्य दायित्व युवापुस्ताले लिनुपर्छ । यो ७८ वर्षको मान्छेले केही हदसम्म कन्ट्रीब्यूट् गर्न सक्छ तर, पूर्णरुपमा खट्न चाहिं सक्दैन ।’
यसै प्रसंगमा उनी जोड्छन्–
‘गिरिजाप्रसाद चाहिं कम बोल्नुहुन्थ्यो । देशको राजनीतिक परिवर्तन लगायतका अवस्थामा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई मिलेर राजा वीरेन्द्रसँग सोधेछन्, अब कसरी अगाडि बढ्ने भनेर ? भन्दा राजाले पनि म पनि सिक्दैछु भनेर भनेछन् ।’ कुनै पनि समयमा इतिहास दोहोरिंदैन, मान्छेहरु भन्छन्, इतिहास दोहोरिन्छ तर, इतिहास दोहोरिंदैन ।
परिस्थति यति परिवर्तित भइसकेको हुन्छ, त्यो परिवर्तित परिस्थतिमा अनुभवको केही हदसम्म उपयोगिता हुन्छ, तर आफ्नै दिमाग खियाएर राम्रो विचारबाटै अगाडि बढ्नुपर्छ ।
२० औं शताब्दीमा नेपालका दुइ जिनियसः बाबुराम आचार्य र लक्ष्मीप्रसाद देवकोटा
‘म भन्छु, नेपालमा २० औं शताब्दीमा २ जना जिनियसहरु जन्मे । एउटा इतिहास शिरोमणि बाबुराम आचार्य, अर्को महाकवि लक्ष्मीप्रसाद देवकोटा’, महाकविसँग आफ्नो त्यति सम्पर्क हुन नपाए पनि इतिहास शिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायण शाहको विषयमा लेखेको कुरा आफूले पढ्न पाएको चिरन बताउँछन् । संसारमा धेरै जिनियसहरु भेटे पनि बाबुराम आचार्यकै तहको नेपालमा अरु कोही नभएको उनको दाबी छ । यस्ता जिनियस संसारैमा पनि विरलै भेटिने उनको ठहर छ । संसारमा नेपालीहरु मिहेनती भएको र राम्रो नेतृत्व पाएको खण्डमा नेपालीहरु अघि पनि बढ्छन् भन्दै उनी सम्झन्छन्– मलाई १५/१६ वर्षअगाडि एकजना नोबल विजेता जो ट्रिनिटी कलेजका प्रोफेसर पनि हुनुहुन्थ्यो, उनले सोधेका थिए, नेपालको भविष्य कस्तो देख्छौं भनेर, जवाफमा मैले भनें, नेपालको भविष्य उज्जवल देख्छु । नेपाललाई कसैले पछाडि पार्न सक्दैन । हामी पछाडि परेका छौं, हाम्रै कारणबाट, अब हामी हाम्रै कारणबाट अगाडि बढ्नुपर्छ, भनेर भनें ।
सत्ताधारी पार्टीले सरकारलाई पूर्ण समर्थन गर्नुपर्छ, अपोजिसनको जस्तो व्यवहार गर्ने होईन
बहुदलीय व्यवस्थामा दलको महत्व चाहिं निकै महत्वपूर्ण हुन्छ । छिमेकी मुलुकहरु भारत र चीनलाई उदाहरण दिदै उनी भन्छन्, – भारतमा कांग्रेस पार्टी भएको १८८५ देखि हो । उनीहरुले धेरै स्ट्रगल पनि गरे र पछि १९४७ मा प्रधानमन्त्री जवाहरलाल नेहरुकै अन्तर्गतमा राज्य चलाए । त्यसकारण भारतमा राज्यको पनि अनुभव छ । यस्तै, चीनमा पनि माओ त्सेतुङले मुक्त क्षेत्रमा धेरै हन्डरहरु पाए, उनीहरुले पनि हजारौं किलोमिटरको लंग मार्चजस्तो स्ट्रगलबाटै अघि बढे । उनीहरुको अनुभव बढ्दैगयो । नेपालमा चाहिं बहुदलको त्यति अनुभव भइसकेको छैन । त्यैपनि हामी अनुभवबिना पनि देश अगाडि बढोस् भन्ने मात्रै भइरहेको छ । यहाँहरुले भन्नुभए जस्तै, अहिलेको नेतृत्वको विकल्प छैन ।
अहिले २, ३ वटा महत्वपूर्ण दलहरु छन्, तिनका नेताहरु पनि २÷३ जना हुनुहुन्छ । अब २००७ सालपछि नेपालमा २० जना प्रधानमन्त्री भए, यसमा १३ जना बितिसके । अब ७ जना हुनुहुन्छ, यसमा १÷२ जना थपिएला । यिनै प्रधानमन्त्रीहरुबाट देशको विकास सम्भव छ । र, मेरो विचारमा हुन्छ पनि । अहिलेको नेताहरु चुनावबाट आउनुभएको छ, नेतृत्व शक्ति नभएको होइन, तर धेरैजसोको समस्या भने आफ्नै दलभित्रकै छ । दलीय नेताहरु अगाडि बढ्नसक्नुभयो भने, उहाँहरुले देशलाई पनि योगदान गर्नसक्नुहुन्छ, चिरन भन्छन्– ‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई नेता हुँदा चाहिं उनीहरुलाई दलको पूरा समर्थन ग¥या’थे, अथवा उनीहरु परिवर्तन हुन्थे । तर अहिलेको वर्तमान सरकार, शक्तिमा त छ तर आफ्नै पार्टीले नै अपोजिसनको काम गरिरहेको छ, यसरी त हुँदैन । शक्तिमा आएको पार्टीले त सरकार चलाउनुपर्छ, राज्यसत्ता सञ्चालन गर्नुपर्छ । र, यसमा आफ्नै पार्टीले त झन् पूरा समर्थन गर्नुपर्छ ।
यो पनि पढ्नुस्
COMMENTS