काठमाडौं, २२ भदौ । विभिन्न युट्युब च्यानलका अन्र्तवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक चिकित्सक पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई आज पक्राउ गरेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो । पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनुको पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । उनको दाबी पुष्टि हुने कुनै प्रमाण नभेटिएकाले उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
COMMENTS