धनुषा, २२ भदौ । धनुषामा स्थानीय र प्रहरीको विवाद बढेर झडपमा परिणत हुँदा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन् । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमास्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद भएको थियो ।
औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति साढे १० बजेतिर प्रहरी र स्थानीयबीच झडप भएको हो । प्रहरी निरीक्षक दीपक राय र प्रहरी जवान रामविश्वास परित घाइते भएका छन् । स्थानीय र प्रहरीबीच भनाभनस“गै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरस्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ ।
प्रहरीको लाठी चार्जबाट भाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । घाइते हुनेमा एक जना महिला रहेकी छिन् । बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए । त्यही गोलियाका विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका हो ।
COMMENTS