काठमाडौं, २३ भदौ । नक्कली प्रेस कार्ड छापेर बेचेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।
प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् । ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।
होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । बरामद कार्डमा प्रेस लेखिएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको एसएसपी थापाले बताए ।
COMMENTS