मेघगर्जन,चट्याङसहित ८ जिल्लामा भारी वर्षा: सतर्क रहन आह्वान

काठमाडौँ, २६ भदौ । मनसुनको न्यून चापीय रेखाको प्रभावले काठमाडौँ, कास्कीसहितका विभिन्न ८ जिल्लामा भारी वर्षा भएको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानीपखबाट भारी वर्षा भएको छ । यस्तै कास्की, रूपन्देही, कपिलवस्तु, म्याग्दी, पर्वत, नवलपरासी र बागलुङमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

भारी वर्षा भएका क्षेत्रमा बाढी पहिरो र डुबानको खतरा रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र अहिले भारी वर्षा भएका गण्डकी प्रदेशका केही जिल्लामा दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board