आज देशभर १,४५४ जनामा कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु

काठमाडौं, २६ भदौ । नेपालमा बितेको २४ घण्टामा थप १,४५४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज देशभर हालसम्मकै धेरै संक्रमित दर थपिएको हो । यो अवधिमा १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् । नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१,९१९ र निको हुनेको सङ्ख्या ३६,६७२ पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालमा १४,९२१ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,६३४ घरमै छन् भने बाँकी ८,२९१ संस्थागत आइसोलेशनमा छन्। सङ्क्रमितहरूमध्ये १७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्। क्वारन्टीनमा ५,०७८ जना रहेका छन्।

थप पाँच जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३२२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १,४५४ जना सङ्क्रमित र पाँच जना मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं जिल्लामै ६२० जना संक्रमित थपिए
शुक्रवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका ६२० जना रहेका छन्। भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी उपत्यकाका जिल्लामा कुल ६९६ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै मोरङमा ४७, कैलालीमा ६७, मकवानपुरमा ५४, रूपन्देहीमा १०२, चितवनमा ७४ र सिराहामा ४२ जना सङ्क्रमित थपिएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board