यस्ता छन् नेकपा स्थायी कमिटीको महत्वपूर्ण १५ वटा निर्णयहरु

काठमाडौँ, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बालुवाटारमा भएको स्थायी कमिटीको बैठकले १५ वटा निर्णयहरु गर्दै सम्पन्न भएको छ । करिव डेढ महिना स्थगीत भएको स्थायी कमिटीको बैठकले १५ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सकिएको हो । गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो ।

यसबीचमा पार्टीभित्रको बिवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गरेको थियो । साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिएका थिए । सो प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यस्ता छन् महत्वपूर्ण १५ वटा निर्णयहरु :

१. अध्यक्षद्वयले तयार पारेको कार्यसूची पारीत,
२. स्थायी कमिटीका सदस्यहरुले दिएको सुझावलाई सम्बोधन गर्ने,
३. पार्टीलाई सुदृढ ढंगले अघि बढाउने,
४. पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने,
५. विगतमा भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने,
६.अध्यक्षद्वयको कार्यविभाजन । जसमा पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई र सरकारको पुरै कार्यकाल केपी ओलीले गर्ने,
७. सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टीको मार्गदर्शनमा रही सरकार अघि बढनुपर्ने,
८. महत्वपूर्ण कुराहरुको निर्णय गर्दा सरकारले पार्टीमा छलफल गर्नुपर्ने, दुई अध्यक्षबीच सहमतिमा गर्ने,
९. एकताको महाधिवेशन चैत्र २५ देखी ३० सम्म काठमाडौँमा गर्ने,
१०. कार्तिक १५–१७ सम्म महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटीको बैठक बस्ने,
११. लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा दृढताका साथ सरकारलाई सहयोग गर्ने,
१२. नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने,
१३. कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने,
१४. एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने, झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई विशेष ध्यान दिने,
१५. पार्टीभित्रका सैद्धान्तिक बहसलाई महाधिवेशनमा लगि समाधान गर्ने ।

यो पनि पढ्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board