ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा – पद्मज्योती

काठमाडौँ, २६ भदौ । काठमाडौंको कान्तिपथस्थित ज्योति भवनमा रहेको ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको उक्त भवनका मालिक तथा उद्योगपति पद्मज्योतीले नै पुष्टि गरेका छन् । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटलले सात वर्षअघि सम्पर्क क्लिनिकको रूपमा खोलेको ग्राण्डी सिटी क्लिनिक अहिले अवैध हस्पिटल बनेको हो ।

ज्योतिले हालै प्रकाशित गरेको सार्वजनिक सूचनामा भाइ डा. रूपज्योती र मिला सायमी मिलेर खोलेको उक्त अस्पतालले आफ्नो स्वामित्वको भवन समेत प्रयोग गरेपनि हालसम्म भाडा नदिएको उल्लेख गरेका छन् । साथै, उनले भाइ र मिलाले आफूसँग घरभाडाको सम्झौता समेत नगरी एकतर्फी रूपमा भवन प्रयोग गरेको आरोप लगाएका छन् ।

उनले हालै प्रकाशित गरेको सूचनामा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५ मा इजाजतपत्र प्राप्त नगरी अस्पताल सञ्चालन गरेको अवस्थामा दण्डात्मक व्यवस्था रहेकोले गैरकानुनी रूपमा सञ्चालित अस्पतालमा सेवारत चिकित्सकको आचारसंहिताको वैधता, चिकित्साको गुणस्तर र सर्वसाधारणको जीवनमा पर्नसक्ने असरको बारेमा समेत प्रश्न उठेको‘’ उल्लेख गरिएको छ ।

उनले लेखेका छन् ‘आमजनताको स्वास्थ्य जस्तो गम्भीर विषयसँग सम्बन्धित भएकाले राज्यका जिम्मेवार निकायले तत्काल गैरकानुनी सञ्चालन रोकी बलजफ्ती बसेको घर खालि गराई तत्पश्चात् थप अनुसन्धान र कारबाही गर्ने अपेक्षा राखेको छु ।’

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थ सहायक मन्त्री बनेका उद्योगपति डा. रूप ज्योती उक्त अस्पतालका अध्यक्ष हुन् । गत वर्ष घरजग्गा कारोबारसम्बन्धी विवादमा विकेन्द्रकृष्ण मल्लको उजुरीको आधारमा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ परेर हिरासतमा राखेको थियो ।

विगतमा यो अस्पताल भाडाको कोखमा बच्चा उत्पादन गर्ने (सरोगेसी) थलोको रूपमा पनि ठूलै विवादमा आएको थियो । ग्राण्डी सिटी अस्पतालले प्रतिबन्धित सरोगेसीको धन्दा चलाएपछि त्यसका अध्यक्ष रूपज्योती स्वयम् विवादमा तानिएका थिए ।

अर्बपति ज्योति ग्रुपको पारिवारिक अंशवण्डाको झगडा छताछुल्ल भएको छ । करिब तीन महिनादेखि चरम उत्कर्षमा पुगेको झगडामा थप बल पुग्ने गरी बुधबार ज्योति ग्रुपका पूर्वअध्यक्ष पद्म ज्योतिले सार्वजनिक सूचना जारी गरे । पद्म र रूप सहोदर दाजुभाइ हुन् । उनीहरूका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा ज्योति ग्रुपका नाममा विभिन्न कम्पनीहरू सञ्चालन गरेका थिए ।

एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग रहेको यो ग्रुपभित्र रूप ज्योतिले दाइले सम्पत्ति बेचेको आरोप लगाउँदै आएका छन् भने पद्म ज्योतिले अवैधानिक रूपमा सम्पत्ति हडपेको आरोप लगाएका छन् । उनीहरूबीचको विवाद अहिले स्थानीय प्रशासनदेखि अदालतसम्मै पुगेको छ । कहिले दाइलाई प्रकाउ गर्न भन्दै भाइ र कहिले भाइलाई पक्राउ गर्ने भन्दै दाइ प्रहरी कार्यालय धाउने गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board