- सपना थामी /धु्रव अधिकारी
१०७ औं विपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचारधारसँग अर्थात् नेपाली काँग्रेसका विभिन्न व्यक्तिहरुसँग विपी समग्र नेपाली राजनीतिकमा र बहुआयामिकरुपमा योगदान पु¥याउनुभएको योगदानबारे कुराकानी गरिरहेका छौं । यसैक्रममा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद सत्यनारायण खनालसँग सपना थामी र धु्रव अधिकारीले गरेको संवादको अंशः
विपीको घरमा आफैं थाल माझ्नुपथ्र्यो
सत्यनारायण शर्मा खनालले पहिलो पटक विश्वेश्वरप्रसाद कोइरालालाई बनारसमा भेटे । त्यतिबेला विपी ८ वर्ष जेलजीवन बिताएर भारत गएका थिए । पहिलो पटक भेट्दा विपी निकै फूर्तिलो र अति स्पष्ट वक्ता देखिन्थे सत्यनारायण बताउँछन्, – अहिलेका विद्धानहरु कुरा चपाएर, घुमाएर बोल्छन् तर विपी आफ्नो कुरा स्पष्टसँग राख्नुहुन्थ्यो । वि.सं. २०१५ मा प्रधानमन्त्री हुँदा विपीले कसैलाई पनि टिकट दिएनन्, गिरीजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला न त, कृष्णप्रसाद कोइरालालाई नै । विपी भइन्जेल परिवार छुट्टिएको पनि थिएनन् । पहिलो पटक धर्मशालामा बसेका थिए भने, त्यसको भोलीपल्ट विपीको घरमा सत्यनारायणलाई खाना खाने साइत जु¥यो । सत्यनारायणसँगै पूर्वराज्यमन्त्री नारायण शर्मा जो चितवनका थिए, उनी पनि सँगै रहेछन् । सत्यनारायण मुस्काउँदै भन्छन्, – उहाँहरु थोरै–थोरै खाना खानुहुँदो रहेछ, हामी अलि धेरै – धेरै खान्थ्यौं । हामीले त छिटो–छिटो खाएर सक्यायौं तर विपी भने गफ गरेर खाइरहनुभाथ्यो । घरमा आमाले पकाएर दिने बानी, खाको थाल नधुने यतिसम्म कि आमाले ढिकुरोमा धान पिट्दा छोरा अगाडी पनि नपर्ने । पछि विपीले त आफूले खाएको थाल त उठाए, हामी दुईजनाको थाल पनि उठाउनुभयो र जुठ्यानमा गएर माझ्नुभयो, हामीले थाल थुत्न पनि सकेनौं, मात्रै कालो–निलो भयौं । सत्यनारायण फेरी सम्झन्छन्, विपी समाजवादी थिए, हामी सामन्तवादी । विपी त आफ्नो लुगा पनि आफैं धुनुहुन्थ्यो, विचारमा प्रजातान्त्रिक समाजवादी, व्यवहारमा टोटल्ली समानतावादी ।
विपीले प्रधानमन्त्रीको २५ सय तलब १५ सय बनाए, भाइलाई जागिरबाट निलम्बन गरे
जब, विपी कोइराला वि.सं.२०१५ सालमा पहिलो पटक प्रधानमन्त्री बने, पहिलो मन्त्रीमण्डलको बैठकले प्रधानमन्त्रीकै तलब घटाए । त्यतिबेला प्रधानमन्त्रीको तलब २५ सय रुपैंया थियो, उनले एक हजार रुपैयाँ घटाएर १५ सय बनाए । विपीका भाई तारिणीप्रसाद कोइरालाले पनि विसं. २००७ सालको क्रान्तिको बेला अन्डरग्राउन्डबाटै विराटनगरमा । तात्कालीन समयमा ‘यो प्रजातान्त्रिक रेडियो नेपाल हो ’ भनेर उद्घोष गरेका थिए । पछि रेडियो नेपाल स्थापना भएपछि पहिलो डाइरेक्टर पनि तारिणीप्रसाद नै बने । विपीले भाई तारिणीप्रसादलाई सोधेछन्, – तेरो तलब कति छ ? तारिणीले भनेछन्, – ३ सय रुपैंया । त्यतिबेला तारिणीको २ जोर छालाको जुत्ता विपीले देखेका रहेछन् र भनेछन्, – मेरो १५ सय तलब खानेको यस्तो छैन, तँ ३ सय रुपैंया तलब खानेको कसरी २ जोर छालाको जुत्ता भयो हँ ? त्यसपछि विपीले भाइलाई निर्देशकको जागिरबाट निकालिदिए । तर तारिणी त्यस्ता थिएनन् क्यार, आमा दिव्यादेवीको अनुरोधमा अब भाइले त्यस्तो गर्दैन, माफी दे भनेपछि तारिणीलाई माफी दिइयो । अब त्यो बेला कसैले उपहार स्वरुप पनि दिएको हुनसक्छ, तारिणी त्यस्तो व्यक्ति थिएनन्, उनी साहित्यिक व्यक्ति थिए सत्यनारायण बताउँछन् ।
बरु, कम्युनिष्ट नेताहरुले मोहीसँग धान, चामल मागे तर विपी लिंदैनथे
सत्यनारायण भन्छन्, मैले वास्तवमै विपीलाई कसरी चिने भनें, वि.सं. २०३५ सालमा सेन्ट्रल जेल प¥याथे । सर्वस्वसहित फाँसीको दफा लगाएर जेल राखिएको थियो । कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली पनि त्यहीं थिए । मोहनचन्द्र अधिकारीको हजुरबुवा रामचन्द्र अधिकारी, कृष्णप्रसाद कोइरालाका भानिज थिए, उनीहरुको त अब ठाउँमा–ठाउँमा जग्गा, जमिन थियो । मोहीहरुलाई धान, चामलमा आधा हक हुन्थ्यो । सो अनुसार कम्युनिष्टहरुले आधा धान, चामल अन्न लिन जान्थे तर, विपीले भने त्यस्तो कहिल्यै लिन गएनन् । अब सामन्तवादी विपीले कहिल्यै धान लिन गएनन्, चामल पनि लिन गएनन् तर कम्युनिष्टहरुले लान्थे सत्यनारायणले रोचके प्रसंग बताए ।
विपी कुसाग्र बुद्धिमानी, असल र श्रेष्ठ राजनीतिज्ञ
एकचोटी सत्यनारायण शर्मा खनालले विपीलाई भने, सान्दाजु, तपाईले मान्छे चिन्न सक्नुभएन नि ? राजाले बहुदलले जित्यो भने तिम्रो प्रधानमन्त्री भयो भने को हुन्छ भनेर सोध्दा विपीले परशुनारायण चौधरी भनेका रैछन्, जुन कुरा सत्यनारायणलाई चित्त बुझेनछ । किनकी, परशुनारायण चौधरी त, जनमतसंग्रह लगत्तै मूल बाटो कहाँ हो भन्दै गए नि त, सत्यनारायण भन्छन् । त्यसो त, विपीले प्रभनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाएका थिए भने, भावी प्रधानमन्त्री पनि चौधरी नै हुन् भनेर भनिराखेका थिए । र राजाले पनि तिम्रो पार्टीको भावी प्रधानमन्त्री को हुन्छ भनेर भन्दा परशुनारायण चौधरी भनेका रहेछन् । सत्यनारायणको कुराको जवाफ दिंदै विपीले भने, – परशुनारायणलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको कुराले राजा पनि मनमनै हाँसेका रहेछन्, यसले जसलाई प्रधानमन्त्रीको रुपमा पेश गरिरहेको छ यो होईन भन्ने राजाले बुझेका छन् । यस हिसाबले राजाले भनेका छन् कि, यो चलाख छ, यसले दरबारसँग पनि कुरा मिलाएर अघि बढीरहेको छ । किनकी त्यतिबेला अमेरिकन, इण्डियन, चाइनिज, रसियन सबै देशहरुले घेरेका थिए । सत्यनारायण भन्छन्, त्यतिबेला विपीले राजालाई सुनाएझैं गरेर त्यो कुरा भारतको ईन्दिरा गान्धिलाई सुनाएका थिए ता कि, भारतले नबिथोलोस् । त्यसैले विपी कुसाग्र बुद्धिमान एवम् माथिल्लो तहको पोलिटिकल लिडर हुनुहुन्थ्यो, महानतम् नेता हुनुहुन्थ्यो ।
विपीको वार्ताले सुल्झाएको त्यो सगरमाथा विवाद
विपीलाई राष्ट्रवादी नेताको रुपमा लिइन्छ । त्यसो त विपीले मार्गनिर्देश गरेको सिद्धान्त पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । जसलाई नेपाली काँग्रेसले आज पनि मूल सिद्धान्त बनाएर हिंडिरहेको छ । कुनै समय थियो सगरमाथा चीनले आफ्नो भनिरहेको थियो । त्यतिबेला तिब्बती भाषामा चोमोलोङ्मो भनिन्थ्यो । विपीले चीनका चाउ एन लाएसँग वार्ता गरे, माओत्सेतुङसँग वार्ता गरे । यो नेपाली भाषामा सगरमाथा भनिन्छ, सगरमाथा नेपालको हो भन्ने पक्षबाट वार्ता गरे र यसको समाधान पनि गरे । सत्यनारायण भन्छन्, – त्यस समय पुरै सगरमाथा नेपालको थियो । पछि जनमत संग्रहपछि राजासँग के सम्झौता भयो थाहा छैन त्यसपछि अहिले भने सगरमाथाको उत्तरी भाग चीनको भएको छ ।
त्यसो त, विपीको अन्तराष्ट्रिय स्तरमा पनि उत्तिकै प्रभाव थियो । संयुक्त राष्ट्रसंघमा चीनलाई सदस्य मुलुक बनाउने विषयमा पनि विपी कोइरालाले नै आवाज उठाएका हुन् । इजरायललाई स्वतन्त्र देश घोषणा गर्ने विषयमा पनि भारतले असहमति जनाउँदा जनाउँदै विपीले सहयोग गरेका थिए । इजरायलको मन्त्रीपरिषद् कार्यालयमा अझै पनि विपीको तस्विर राख्ने गरिएको छ । सत्यनारायण भन्छन्, – विपीले त्यसबखत सोभियत संघका प्रमुख खु्रस्चेभसँग ४५ मिनेट कुरा गरेका थिए, जबकी विश्वविख्यात भारतका नेता जवाहरलाल नेहरुसँग ख्रुस्चेभ्ले जम्मा १५ मिनेट मात्र समय दिएका थिए । आफूभन्दा सानो देशको मान्छेसँग यति धेरै समय वार्ता गरेको भन्ने मनमा लागेर जवाहरलाल नेहरुले ख्रुस्चेभ्लाई सोधेका रहेछन्, नेपालको प्रधानमन्त्रीसँग कुरा गर्नु भाको होइन ?, ख्रुस्चेभ्ले भनेछन्, – हो, उहाँसँग (विपी) फेरी पनि भेटेर कुरा गर्नुछ । यस्तो सुनेर नेहरुको मनमा च्वास्स बिझेको थियो । यस्तै पूर्वराजा वीरेन्द्र शाह पहिलो पटक राजा भएर पहिलो युरोप यात्रामा गएका थिए । विपी कोइराला जेल पर्दा पनि युरोपका तात्कालीन परराष्ट्रमन्त्री नेपाल आइसकेका थिए । युरोपका राष्ट्रपति भने कम्युनिष्टका ठूला नेता थिए । सत्यनारायण भन्छन्, – अहिले ठ्याक्कै नाम बिर्सें तर उसको हाइट चीनमा माओत्सेतुङ जत्तिकै थियो । पहिले –पहिले युरोपका राष्ट्रपतिलेहरुले राजालाई भेट्दा पहिलो वाक्य हाउ डु यू डू भन्ने थियो अर्थात् तिमीलाई कस्तो छ ? तर, ती युरोपियन राष्ट्रपतिले भने पहिलो वाक्यमा हाउ इज् मिस्टर कोइराला ? होयर् इज् ही ? भनेर सोधेका थिए । अर्थात्, मिस्टर विपी कोइरालालाई कस्तो छ ? र उनी कहाँ छन् ? भनेर राजा वीरेन्द्रले जवाफ भनेछन्, – ही ईज् वेल्, ही इज् इन ईण्डिया, उनलाई राम्रो छ, उनी ईण्डियामा छन् ।
यसैगरी, तात्कालीन समयमा राणा र राजाहरुले विकासको मूल फुटाउनुपर्छ भन्ने नारा लिएका थिए । यसैक्रममा पूर्वराजा वीरेन्द्रले अन्तराष्ट्रिय सोसलियजम्का अध्यक्ष चान्सलर विलिब्रान्टलाई आर्थिक सहयोगको प्रस्ताव राखेका थिए । बिलिब्रान्टले पनि राजालाई विपीको सल्लाह अनुसार अगाडि बढ्नुस्, हामी चाहेजति धेरै सहयोग गर्नेछौं भनेका थिए । यी लगायत विपीका विभिन्न कुराहरु छन्, जसले विपी अन्तराष्ट्रिय जगत्मा पनि उत्तिकै प्रभावशाली व्यक्तित्व हुन् भन्ने प्रमाणित गर्दछ ।
विपीले राजासँग घाँटी जोडे भन्नेहरुलाई खनालको प्रतिप्रश्न, – घाटी जोड्ने विपीलाई राजाले किन पासपोर्ट दिएनन्, किन १६ वर्ष जेल हाले ?
विपी कोइरालालाई घाँटीको क्यान्सर थियो, उपचारका लागि विदेश जानुपर्ने भयो । यसक्रममा विपीले विदेश जानको लागि पासपोर्टको माग गर्दै राजालाई निवेदन दिएका थिए । तर, राजाले उनलाई विदेशमा उपचार गर्ने अनुमति दिएनन् । विपीलाई तिम्रो उपचार यही मुलुकभित्र हुन्छ यसर्थ पासपोर्ट दिइंदैन, विपी विदेश जानुको कारण राजनीतिक हो, स्वास्थ्यका कारण होइन भनेर राजाले जवाफ दियो । विपीलाई एउटा आरोप छ कि, विपीले राजासँग घाँटी जोड्न गए भन्ने ? यसको उत्तरमा उनी भन्छन्,– राजासँग घाँटी जोड्न गएको विपीलाई किन राजाले पासपोर्ट दिएनन् त ? किन १६÷१६ वर्ष जेल हाल्यो ? राजा महेन्द्रले त विपीलाई पञ्चायत व्यवस्था मान, तिमी आजीवन प्रधानमन्त्री हुन्छौं भनेकै थिए, तर विपीले त्यो किन अस्विकार गरे त ? यसकारण तात्कालीन समयमा विपी कोइरालाले राष्ट्रियताको सवालमा राजासँग सहमति गरेर अघि बढ्नुपरेको सत्यनारायणको भनाई छ । सत्यनारायण भन्छन्, – तत् समयमा राजाले पनि राष्ट्रियता खतरामा छ भनेर भनिरहेका थिए । पशुपति काण्डहरु भए, सम्झनुस्… एम्बेसीहरुले विद्यार्थीहरुलाई समेत पैसा बाँडेका थिए । कम्युनिष्टहरु त अन्तराष्ट्रियवादीहरु हुन्, संसारका मजदुरहरु एक हौं भन्छन्, संसारभरका कम्युुनिष्टहरुको एउटै राज्य बनाउनुपर्छ भन्ने उनीहरुको नीति हो । राजाले लोकतन्त्र चाँहदैनथे, जनताको हित चाँहदैनथे । तर विपी र राजाको कुरा यही राष्ट्रियताको मुद्दामा आएर मिलेको हो । त्यसो त, भारतका नेताहरुले विपीलाई भारतमै राजनीति गर्न पनि भनेका थिए तर, विपीले नेपाललाई स्वतन्त्र बनाउने लक्ष्यकासाथ राजनीति गरे । पहिला ८ वर्ष जेल बसेर निर्वासन जीवन बिताए, पछि फेरी मेलमिलापको नीति लिएर नेपाल फर्के । नेपाललाई अखण्ड, स्वतन्त्र र सार्वभौम राष्ट्र बनाउनुनै नेपाली काँग्रेसको एजेण्डा बन्यो जसअनुसार काँग्रेसको अभिवादन नै जय नेपाल रहन गएको पनि हो ।
विपीको समावेशी सिद्धान्त
तात्कालीन समयमा जात, धर्म, लिङ्ग, क्षेत्र यस्ता विषयमा मुद्दा नै उठेका थिएनन् । तर कुशल राजनीतिज्ञका हिसाबले विपीले मेचीदेखि महाकालीसम्म हिमाल, पहाड, तराई सबै क्षेत्रको प्रतिनीधिलाई पार्टीमा समावेश गराएका थिए । दलितलाई सबैभन्दा पहिलोपटक महामन्त्री बनाएको पनि विपीले नै हो । यस्तै महिला सहभागीतालाई पनि जोड दिएका थिए ।
साहित्यकार विपी कोइराला
विपीले यौनमनोविज्ञानको चित्रणलाई आफ्ना उपन्यासहरुमा सशक्त ढंगबाट उतारेका छन् । ‘सुम्निमा’ मा यौनको छाडावाद छ, सत्यनारायण भन्छन् । विशेषरी नारीसँग तीनवटा चीज हुन्छ, प्रेम, शरीर र मातृत्व । प्रेम र शरीर भएका कारण वासना पनि हुन्छ । त्यसो त, नारीले ठूला ज्ञानी, तपस्वीहरुको ध्यान समेत भंग गरेकी छिन् । विश्वामित्रको ध्यान उर्वसीले भंग गरिदिईन् । सत्यनारायण आफ्नै आमालाई जोड्दै भन्छन्, म अरुलाई होइन, आफ्नै आमालाई सम्झे । जसरी मेरो आमाले कुनै पुरुषलाई प्रेम गर्नुहुन्थ्यो होला, तर वासना त मेरै पितासित भयो, म जन्मे । विपीका उपन्यासमा नारीले आफ्नो शरीरमा भएको भोक मेटेको कुरालाई धेरै अर्थबाट अथ्र्याएका छन् । ‘दोषी चस्मा’ मा भने राणाकालमा गरिने चाकडीबाज र पदक यस्तै–यस्तै विषयलाई अंकित गरिएको छ । त्यसो त सत्यनारायण आफैं पनि साहित्यमा रुचि राख्छन्, कक्षा १० मा एउटा ‘तिम्रै भावनामा हिमालयमा नेपाली झण्डा फहरायो’ नामक शिर्षकमा शहिदहरुलाई सम्झेर कविता लेखेका रैछन् । यो कविता सत्यनारायणको नभएर कसैले लेख्न लगाएको भन्ने आरोपमा उनी जेल समेत जानुपरेछ । विपीले आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेर भनेका छन् । विपीको साहित्यमा पनि उत्तिकै योगदान छ ।
परिवर्तनको नाममा डायनामाइट बोक्न उक्सिनेहरुलाई विपीको प्रश्नः दुर्गम क्षेत्रमा शिक्षक बन्छौं ?
तात्कालीन समयमा पनि राजनीतिक परिवर्तनको क्रममा एक जना एम.ए. पास गरेका युवाले विपीलाई डायनामाइट र रिभरबल्ब बोक्ने कुरा लिएर गएछन् । सत्यनारायण स्वयम् आफू पनि तरुणमा हुँदा यस्ता गतिविधिमा संलग्न भएको अनुभव सुनाउँछन् । तर विपी उनीहरुलाई जुम्ला जस्तो दुर्गम क्षेत्रमा शिक्षक बन्न जाऊँ भनेर भनेछन् । पछि सत्यनारायण स्वयम् आफू पनि शिक्षक पेसामा आबद्ध भए । सत्यनारायण युवाहरुलाई सुझाव दिन्छन्, – आजको युवाले पनि २४ सैं घण्टा राजनीति गर्ने होइन, पोलिटिक्स्लाई सेकेण्डरी जब बनाउनु पर्छ । आफ्नो जीऊ पाल्ने, परिवार पाल्न आत्मनिर्भर हुनुपर्छ, अनि बाँकी समय मात्र राजनीतिलाई दिनुपर्छ अनि मात्रै घु िखाने प्रवृत्ति र भष्ट्राचार जस्ता कुसंस्कारको अन्त्य हुन्छ । हामीले खै कपास खेती गरेको, घरबुना कपडाहरु आज खै ? अमेरिकन, युरोपियन, ईण्डियन र चाइनिज लुगा लाएर फुर्ति गर्ने ? सधैं किनेर खाने ? जनताले कहिलेसम्म किनेर खाने ? आज विपीका सिद्धान्तलाई आफ्नो लाइन बनाउनेहरु खान पाएका छैनन्, सुकुम्बासी भएका छन् । र जो–जो अर्बपति भए ऊनीहरु विपीको लाइनमा छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा आफ्ना कार्यकर्ताबाहेक खै कतिले रोजगार पाए ? यसकारण गणतन्त्र आएर पनि जनताको जीवनशैली अप्लिफ्ट हुन सकेको छैन, हामीले त, जनताको जीवन माथि पु¥याउने हो । (सत्यनारायण भावुक बन्छन्) विपीका सिद्धान्त र सपना पुरा गर्नलाई ठूल–ठूला कुरा गर्नु पर्दैन बस् साना–साना कामहरु मात्रै गरे पुग्छ, बोलाई र गराई एकैथोक भए पुग्छ, जे गर्न सकिँदैन त्यो नबोले पुग्छ ।
COMMENTS