काठमाडौं, २९ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वमा एक दिनमा महामारी फैलिएयताकै बढी संख्यामा संक्रमित थपिएको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ७ हजार ९ सय ३० जनामा संक्रमण पुष्टि भएको हो । डब्लूएचओका अनुसार २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी रहेको जनाएको छ ।
त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन् । डब्लूएचओको रिपोर्टअनुसार भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
डब्लूएचओलेको तथ्यांक अनुसार यो अवधिभित्र अमेरिका र भारत दुवै देशमा कोरोनाका कारण हजारभन्दा बढी मानिसको मृत्यु भएको हो । बितेको २४ घण्टामा ब्राजिलमा ८७४ जनाको मृत्यु भएको डब्लूएचओको तथ्यांकले जनाएको छ ।
विश्वभरमा भने ५ हजार ५ सय जनाको जयन गएको डब्लूएचओको तथ्यांक छ । योसमेत गरेर विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको डब्लूएचओको तथ्यांकमा उल्लेख छ। सबै जोड्दा विश्वमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या २ करोड ८० लाख नाघिसकेको डब्लूएचओले जनाएको छ। तीमध्ये लगभग आधा मानिस अमेरिकाका छन्।
डब्लूएचओका प्रवक्ताका अनुसार यसअघि २४ घण्टामा सबैभन्दा बढी संक्रमण पुष्टि सेप्टेम्बर ६ मा भएको थियो। त्यस दिन ३ लाख ६ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको थियो। सेप्टेम्बेरयता भारतमा कोरोना संक्रमणबाट दैनिक हजारभन्दा बढी मृत्यु भइरहेको डब्लूएचओले जनाएको छ ।
एकैदिन ९३ हजार जना संक्रमित
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८८ हजार २०५ जनाको उपचार भइरहेको छ ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको छ ।
COMMENTS