कोभिड-१९ : कति जोखिममा छ काठमाडौं उपत्यका ?


काठमाडौं उपत्यकामा गत साउन २५ गते ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यस्तै २६ गते ६ सय ९६ जनामा, २७ गते ४ सय ३१ जनामा, २८ गते ५ सय ९७ जनामा र २९ गते ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसरी गएको २५ गते देखि २९ गते सम्मको तथ्यांक हेर्दा उपत्यकामा संक्रमणको दोस्रो चरण अर्थात समुदायमा संक्रमण रहेको प्रष्ट हुन्छ ।

काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण सरकार र विज्ञहरुले आंकलन गरेभन्दा तीब्र रुपमा वृद्धि भैरहेको छ । मुलुकका कुल संक्रमित मध्ये ३५ प्रतिशत उपत्यकामै रहेको तथ्यांकले देखाएको छ । नेपालमा पछिल्लो समय कोभिड–१९को प्रवृत्ति मुलकका अन्य भागमा संक्रमित संख्या दोब्बर हुन सरदर २५ दिन लाग्छ भने काठमाडौं उपत्यकाको हकमा हरेक ८ दिनमै संक्रमण दोब्वर हुदै गएको जनस्वास्थ्य विज्ञ प्रा.डा.सुजनबाबु मरहट्ठाको भनाइ छ । प्रा.डा.मरहट्ठाका अनुसार विश्वभरको अभ्यास र अध्ययन अनुसार १ संक्रमित पुष्टि भयो भने समुदायमा १० गुणा संक्रमित हुनसक्ने सम्भावना रहन्छ ।

नेपालमा संक्रमण पुष्टि भएमध्ये ८० प्रतिशत बिनालक्षणका र २० प्रतिशत कुनै न कुनै लक्षणसहितका रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । त्यसो त पिसिआर परिक्षणपश्चात् कोभिड–१९ को संक्रमण पुष्टि हुने प्रतिशत पनि नेपालमा तीब्र रुपमा वृद्धि हुँदै गएको छ । हाल १० प्रतिशत हाराहारीमा रहेको संक्रमण पुष्टि हुने दर भारतको भन्दा बढी हो । भारतमा कुल परीक्षण गरिएकामा सरदर ८ प्रतिशत संक्रमित पुष्टि हुने गरेको पाइन्छ । उपत्यकाको हकमा भने कुल पिसिआरको ११ प्रतिशत संक्रमण पुष्टि हुने दर रहेको छ ।

दैनिक पुष्टि हुने संक्रमितको दर र मृत्युदर हेर्दा नेपालमा संक्रमण नियन्त्रणभन्दा बाहिर गएको भान भैरहेको छ । हुन त सरकारले अहिलेसम्म संक्रमण नियन्त्रणमै रहेको बताउँदै आएको छ । समुदायमा संक्रमण फैलिदा जनस्वास्थ्यका विभिन्न आयाम र चरण पार गरेको हुनुपर्ने हुँदा अहिलेको अबस्थामा उपत्यका लगायत केही ठाउँहरुबाहेक मुलुकभर संक्रमण नियन्त्रणमै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसो त संक्रमण समुदायमा पुगेको प्रसस्त आधार रहेको भन्दै विज्ञहरुले परीक्षणलाई व्यापक बढाउन सरकारलाई सुझाव दिएका छन् ।

संक्रामक रोग विज्ञ डा.अनुप सुवदीका अनुसार नेपालको अहिलेको अबस्थालाई तुलना गर्दा उपत्यकाको संक्रमण दर हेर्दा उपत्यकामा कोभिड–१९को संक्रमण समुदाय स्तरमा तीब्र रुपमा फैलिरहेको बताए । विश्व स्वास्थ्य संगठनको निर्देशिकामा कुल पिसिआर परीक्षण गर्दा ५ प्रतिशत भन्दा माथि संक्रमण पुष्टि हुने दर भएको अबस्थालाई संक्रमण समुदायमा फैलिएको भन्न मिल्ने लेखिएको छ । सोहि अनुरुप उपत्यकाको दर हेर्दा ११ प्रतिशत भन्दा बढी रहेको हुदा उपत्यकामा संक्रमण समुदाय स्तरमा प्रवेश गरेको र यसले झन जटिल समस्या निम्त्याउने विज्ञहरुले दावी गरे ।

कोभिड–१९को संक्रमण रोकथाम र नियन्त्रण गर्ने विश्वव्यापी अभ्यास परीक्षण गर्ने र संक्रमितलाई आईसोलेसनमा राखेर उपचार गर्ने, संक्रमणको जोखिममा छु भन्ने महसुस हुँदा एकान्तबास बस्ने, संक्रमितको संसर्गमा रहेकाहरुलाई कन्ट्याक ट्रेसिङ गर्ने र उनीहरुलाई परीक्षण गरेर संक्रमण भए नभएको एकीन गर्ने नै हो ।

संक्रामक रोग विज्ञ तथा वैज्ञानिक डा. समीरमणि दीक्षितले भने, सरकारले संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने काम प्रभावकारी ढंगमा नगरेको आरोप लगाए ।

डा.दीक्षितका अनुसार सरकारले समय छँदै विज्ञहरुसंग परामर्श लिएर प्रभावकारी काम गनुपर्ने धारणा राखे । अबको एक दुई महिना अझै जटिल रहने जानकारी दिदै संक्रमणको जोखिम कम गर्न नागरिकले जनस्वास्थ्यको मापदण्ड राम्रोसँग अपनाउनु पर्ने, सरकारले प्रभावकारी कार्ययोजना सहित तीब्र रुपमा परीक्षण गर्नुपर्ने, राजनीतिक दलको भेला, सम्मेलन, गोष्ठी बन्द गरी सबैलाई भेला नहुन आग्रह गर्ने र सरकारले सेरोलेजिकल परीक्षणलाई प्राथमिकतामा राखेर समुदायमा कति संक्रमित छन् भन्ने अनुमान लगाउने र पिसिआर परीक्षण विस्तारै कम गर्दै लानु पर्ने बताए । पछिल्लो समय केही नीजि अस्पताल र ल्यावहरुले दस्तुर घटाएर पिसिआर परीक्षण गर्ने होडबाजी नै चलिरहेको छ । ल्यावहरुकै पिसिआर परीक्षणमा अस्वस्थ प्रतिस्पर्धाले परीक्षणको नतिजामा ठूलो समस्या निम्तिएको छ ।

अहिले पनि विश्वभरका बैज्ञानिक खोप निर्माणमा लागिरहेका छन् । नेपालमा पनि ३ वटा खोपको क्लिनिकल परीक्षण गर्ने प्रकृया अघि बढेको छ । यता नेपाल औषधि अनुसन्धान परिषद्ले नेपालमा पाइने जडिबुटिको पनि क्लिनिकल परीक्षण गर्ने प्रकृया अघि बढेको जानकारी गराएको छ । यसर्थ आम नागरिकले विश्वबजारमा कोरोना बिरुद्धको खोप छिटै आउने अपेक्षा राखेका छन । बजारमा खोप उपलब्ध नहुँदासम्म सबै जिम्मेवार बन्नु, सतर्क रहनु र सजग रहनु आजको आवश्यकता हो ।

काठमाडौं उपत्यकामा हरेक ८ दिनमै संक्रमण दोब्वर हुदै गएको छ

प्रा. डा. सुजनबाबु मरहट्ठा, जनस्वास्थ्य विज्ञ
काठमाडौं उपत्यकामा संक्रमण किन तीब्र वनिरहेको छ ?
मुलुकका कुल संक्रमितमध्ये ३५ प्रतिशत उपत्यकामै रहेको तथ्यांक छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हरेक ८ दिनमै संक्रमण दोब्वर हुदै गएको छ । उपत्यकामा संक्रमण अझै बढ्ने सहजै आकलन गर्न सकिन्छ । जनधनत्व बढी भएको कारण मानिसको चहलपहल उपत्यकामा धेरै छ । तीब्र रुपमा संक्रमित पहिचान नगर्ने हो भने संक्रमणको फैलावट झन बढी हुन्छ ।

काठमाडौं उपत्यकामा समुदाय स्तरमा पुगिसकेको छ

डा. अनुप सुवेदी, संक्रामक रोग विज्ञ
काठमाडौं उपत्यका जोखिमको हिसावले कुन अबस्थामा छ ? संक्रमणलाई कसरी नियन्त्रणमा लिने ?
काठमाडौं उपत्यकाको संक्रमण दर हेर्दा उपत्यकामा कोभिड–१९को संक्रमण समुदाय स्तरमा पुगिसकेको छ । मुलुकभरी नै यसको फैलाबट तीब्र रुपमा भैरहेको छ । काठमाडौं उपत्यकालाई कोरोनाको जोखिमबाट नियन्त्रण गर्न परीक्षणलाई व्यापक बनाउनु पर्यो । नागरिकले जनस्वास्थ्यको मापदण्ड कडाईका साथ लागु गर्नु पर्यो र सरकार जिम्मेवार बन्नु पर्यो ।

सेरोलेजिकल परीक्षणबाट समुदायमा कति संक्रमित छन् भन्ने अनुमान लगाउनुपर्छ


डा. समीरमणि दीक्षित, संक्रामक रोग विज्ञ तथा वैज्ञानिक
कोभिड–१९ संक्रमण नियन्त्रणमा लिन के गर्ने ? कस्को भूमिका के ?
सरकारले संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने काम प्रभावकारी ढंगमा गर्नु पर्यो । सरकारले समय रहँदै विज्ञहरुसंग परामर्श लिएर प्रभावकारी काम गर्नुपर्छ । नागरिकले जनस्वास्थ्यको मापदण्ड राम्रोसँग अपनाउनु पर्यो, भेला, सम्मेलन, गोष्ठी अझ केही समय बन्द गरी सरकारले सेरोलेजिकल परीक्षणलाई प्राथमिकतामा राखेर समुदायमा कति संक्रमित छन् भन्ने अनुमान लगाउने र पिसिआर परीक्षण बिस्तारै कम गर्दै लानुपर्छ । पिसिआर परीक्षण गर्न सरकारी र विश्वासिलो ल्यावलाई मात्र दिने नियम ल्याउनु प¥यो । त्यसो गर्दा कोरोनालाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board