सप्तरी, ३० भदौ । सप्तरीमा जारी निषेधाज्ञा ५२ दिनपछि आजदेखि हटेको छ । सुरक्षा, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सर्तसहित निषेधाज्ञा हटाए लगत्तै बजारमा चहलपहल ह्वात्तै बढेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले जिल्लामा गत साउन ८ गतेदेखि लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकी हटाउने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानीय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारी भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ ।
जिल्लाभित्र निजी सवारीसाधन तथा दुई जना यात्रु मात्र राखेर सिटी रिक्सा चलाउन पाइनेछ । शिक्षण संस्था, हाट बजार, सभा सम्मेलन लगायतका भने सञ्चालन गर्न पाइने छैन । यस्तै १० वर्षमुनि र ६० वर्षमाथिका मानिस र दीर्घरोगीलाई हिडडुल गर्न तथा सैलुन, ब्युटिपार्लर, जिमखाना, मेला, महोत्सव तथा अन्य सामूहिक भेलामा पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्रदान गरिने नागरिकता वितरण हाललाई बन्द रहनेछ ।
COMMENTS