अब नेपालको क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलोमिटर

काठमाडौं, ३० भदौ । नेपालको कुल क्षेत्रफल अब १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । मंगलबार सार्वजनिक गरिएको ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको हो ।

पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको हो र उक्त पुस्तकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेका छन् ।

पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू-भाग समावेश गरिएको हो । यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरेको थियो । सरकारले गत ७ जेठमा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board