काठमाडौं, २ असोज । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरु भएको छ । असोज ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।
महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिए । जसमा भनिएको छ–
असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताए ।
क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।
क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।
सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात् गर्नु नहुने नियम छ ।
मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । वृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
मच्छेनारायण (मत्स्यनारायण)मेला
रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासमा एक महिना लामो मेला लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको छ ।
मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरि नगरापालिकाले मेला नगर्ने निर्णय गरेको छ । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घर घरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले बताए ।
यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।
भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ । यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ । असोज ३० गते मलमास सकिएपछि कार्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ । मलमासका कारण दशँैपछिका सबै चाडबाड ढिला हुनेछन् ।
यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । फेरि १९ वर्षपछि असोज महिनामै मलमास परेको छ । असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले बताए । मलमासमा विशेषगरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ । यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घर घरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् ।
COMMENTS