बैतडीमा भटिए दादुरा रुबेलाका बिरामी

बैतडी, ४ असोज । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो ।

दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । उनले भने, “दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकामा पनि यस्तो लक्षण देखिए÷ नदेखिएका बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन् ।”

ैदादुरा रुबेलाको सङ्क्रमण देखिएका तीनै जनाले यसअघि खोप भने लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाएर पनि दादुरा रुबेला सङ्क्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, “के कति कारणले उक्त रोगको सङ्क्रमण देखियो अध्ययनकै क्रममा छौँ, अहिले नै कसरी भयो भनेर भन्न सकिने अवस्था छैन ।”

अहिले जिल्लामा तीन जनामा मात्रै दादुरा रुबेलाको सङ्क्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन लागि शिशु जन्मेको नौ महिनामा पहिलोपटक र १५ महिनामा दोस्रोपटक दादुरा रुबेला खोप लगाउने गरिन्छ । दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिँङ्गान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखापर्ने गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । सङ्क्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यस समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँसु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखापर्छ ।

यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका बिमिरा देखापर्छन् । ती बिमिरा करीब तीन दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिमिरा पाँच–छ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया उक्त रोगको जीवाणु शरीरमा प्रवेश गरेको सातदेखि १८ दिनभित्रमा लक्षण देखिन थाल्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board