विदेशबाट फर्केर गाउँमै कुखुरापालन व्यवसाय शुरु

नारायणपुर,४ असोज । कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् ।

गत चैत्रको दोस्रो साता भारतको नयाँदिल्लीबाट घर फर्किएका दाङको राप्ती गाउँपालिका­३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गरेका छन् । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थालेका हुन् ।

लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहेका छन् । उनले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउँछन् । “खाली बस्दा साँझ विहान के खाने भन्ने चिन्ता हुन लाग्यो, आफूले गर्न सक्ने श्रमको काम गरेको छु” अनिलले भने । कोरोनाको डरले भएपनि घरमा परिवासंग बसेर काम गर्न पाउँदा खुशी लागेको उनले बताए ।

देउखुरीकै सूर्यनारायण चौधरीले बाख्रापालन व्यवसाय शुरु गरेका छन् । कतारको सुपरमार्केटमा काम गर्ने चौधरी नेपाल सरकारले गरेको उद्दार उडानमार्फत नेपाल आएका हुन् । चौधरीले अहिले १० वटा बाख्रा किनेर व्यवसाय शुरु गरेको बताए । छ वर्ष विदेश बसे पनि घरमै बसेर व्यवसाय गर्न पाउँदा उनी खुशी छन् ।

विदेशबाट घर फर्किएका जिल्लाका अन्य युवाहरुले पनि तरकारी खेती, पशुपालन, कुखुरापालन माछापालन, माहुरीपालन, व्यापार तथा ससना घरेलु उद्योग शुरु गरेको पाइएको छ । गाउँघरमै रहेर काम गर्नका लागि घरपरिवारको सहयोग र समूहबाट रकमको जोहो गरेर व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ ।

विदेशबाट फर्केर व्यवसाय गरेका १३० जनालाई राप्ती गाउँपालिकाले व्यवस्थापन तथा प्रोत्साहनबापत अनुदान दिएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारिसमा कोभिडबाट प्रभावित भई वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएर कृषिसँग सम्बन्धित व्यवसाय गरेका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board