विनाशकारी मनसुनः यो बर्ष ढिलो बाहिरिने, विज्ञ भन्छन् – ‘क्लाउड ब्रस्ट बढी भयो’

काठमाडौँ, ७ असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।

मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । “शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ”, मौसमविद् कँडेलले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पनिछल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४८।०, धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ ।

लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ ।ती क्षेत्रमा अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश– १, प्रदेश– २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश– ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ।

यसपालिको मनसुन सेप्टेम्बर २३ अर्थात् आज नै सकिने आकलन गरिए पनि यो अझै केही दिन लम्बिने मौसमविद्ले जनाएका छन् ।मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने जानकारी दिए ।

पछिल्ला १० वर्षको विश्लेषण गर्ने हो भने यो वर्षको मनसुन सबैभन्दा विनाशकारी देखिन्छ । मनसुनको अवधिमा यसपालि अघिल्ला वर्षभन्दा ठूला पहिरोजन्य विपत्का घटना धेरै भएका छन् । खासगरी सिन्धुपाल्चोक, म्याग्दी, तनहुँ, कास्की, अछाम, बझाङ, कालीकोट, स्याङ्जा, बागलुङलगायत जिल्लामा पहिरोजन्य घटना बढी भए भने क्षति पनि बढी नै भएको छ ।

राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुसार दुई वर्षअघि तराई क्षेत्रमा मनसुन अवधिमा आएको बाढीले करिब ६२ अर्ब रुपैयाँ बराबरको क्षति गरेको रेकर्ड छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ‘गभर्नेन्स अफ क्लाइमेट चेन्ज फाइनाइन्स प्रोग्राम’ को अध्ययनले पनि बर्सेनि जलवायुजन्य क्षतिले २८ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी हुने गरेको देखाएको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि एउटा निश्चित स्थानमा केन्द्रित भएर हुने मुसलधारे वर्षाका कारण धेरै स्थानमा भेल पहिरो (डेब्रिज फ्लो) निम्तिएको बताउँछन् । त्यो क्रम मनसुन सुरु हुनुभन्दा एक दिनअघि पर्वतको दुलुङबाट सुरु भएको थियो । ‘लगभग मनसुन अवधिमा धेरै स्थानमा भेल पहिरो बढी आयो,’ पोखरेल भन्छन् , – ‘यो वर्ष क्लाउड ब्रस्ट बढी भएको छ ।’

‘देशका धेरै जसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रमम तीन दिनसम्म नै रहन्छ । कतिपय स्थानमा झरी नै पर्छ’, अर्यालले भने । मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन नसकेको मौसविद्ले जनाएका छन् ।आजदेखि मनसुनी प्रभाव मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने भएकाले उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् । यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

बाढी पहिरोबाट वैशाखयता ३७५ को मृत्यु, १०० बेपत्ता र ४२० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ वेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।असोज ११ सम्म तटीय क्षेत्रमा उच्च जोखिमअसोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुरमा उच्च जोखिम रहेको जनाइएको छ । त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ ।महाशाखाले कन्काइ बागमती, तिनाउ वाणगङ्गा, पश्चिम राप्ती बबईका सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ ।यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको मध्यम जोखिममा रहेको जनाइएको छ ।

यो वर्ष सबैभन्दा बढी पहिरो आएको सिन्धुपाल्चोक, तनहुँ, स्याङ्जा, म्याग्दी, कास्की, बागलुङ, अछाम, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, दार्चुला, संखुवासभा, पर्वत, धादिङ, बझाङ, बाजुरालगायत जिल्लामा छोटो अवधिमा सानो क्षेत्र ढाकेर मुसलधारे वर्षा भएको थियो । त्यही वर्षाले पहिरोजन्य विपत् निम्त्याएको जानकारहरूको विश्लेषण छ । जलाधारविज्ञ मधुकर उपाध्या सानो क्षेत्रमा खनिने मुसलधारे वर्षाले अकल्पनीय क्षति गर्छ भन्ने यो वर्षको मनसुनले पुष्टि गरेको बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board